arrow

नेपाली संस्कृति र विकासमा नेपाल–भारत सम्बन्ध सदियौं पुरानो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
nepal-india-relation-2079-10-25.jpg

नेपालगञ्ज । नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छ्न् । उनीहरुले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने बताए ।

राष्ट्रिय एकता अभियानले नेपालगञ्जमा गरेको नेपाली संस्कृति र विकास क्षेत्र नेपाल–भारत सहकार्य विषयक विचार गोष्ठीमा बोल्ने सहभागीले सो कुरा बताएका हुन् । उनीहरुले धर्म संस्कृतिको सवाल होस् वा ठूला र मध्यवर्ती परियोजना नै किन नहोस्, व्यापार र पारवहनको क्षेत्रमा पनि नेपाल भारत दुवै देशबीच सहयोग आदानप्रदान भइरहेको पनि स्मरण गरेका थिए ।

गोष्ठीमा बोल्दै पूर्व मन्त्री सर्वदेव ओझाले सनातन धर्म संस्कृति र परम्पराको जगेर्ना अहिलेको आवश्यकता रहेको उल्लेख गरे । उनले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सम्बन्ध सदियौं पुरानो रहेकाले यसको निरन्तरता अहिले पनि कायमै रहेको बताए । उनले धर्म संस्कृतिको नाममा हुने राजनीतिले द्वन्द्व निम्त्याउने खतरा उच्च हुने उल्लेख गरेका छन् ।

यस्तै नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले देशको धर्म संस्कृति र राष्ट्रियता माटोसँग जोडिएको धारणा व्यक्त गरे । उनले नेपाल र भारत बीचको सम्बन्ध सदियौं वर्ष पुरानो भएको स्मरण गरे । नेपाल–भारतबीच धार्मिक, सांस्कृतिक तथा व्यापारिक हिसाबले अत्यन्त सकारात्मक सम्बन्ध रहेको अधिकारीको भनाइ छ । उनले दुवै देश सार्वभौमसत्ता भएकोले कसैले कसैको दबाब स्वीकार्य सम्भव नभएको उल्लेख गरे ।

यस्तै अन्तर्राष्ट्रिय संस्कृतिका महासचिव हर्क स्वाँरले नेपाल र भारत बीचको सम्बन्ध सांस्कृतिकरुपमा बलियो भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले धर्मको नाममा भइरहेको राजनीतिले स्वाभिमान गुम्दै गएको टिप्पणी गरे । उनले धर्म र राष्ट्रियताला सवालमा गरिने राजनीतिले देश कमजोर हुने उल्लेख गरे । उनले सनातन धर्म संस्कृतिको संरक्षणले मात्र देशको राष्ट्रियता जोगिने जिकिर गरे ।

यस्तै राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले संस्कृतिको संरक्षणले मात्र राष्ट्रियता बलियो हुने बताए । उनले नेपालको सनातन संस्कृति पछिल्लो अवस्थामा कमजोर हुँदै गएका कारण अहिले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको टिप्पणी गरे । 

उनले भारत र नेपालको संस्कृति र परम्परा उस्तै उस्तै भएकाले त्यसको संरक्षणका लागि दुबै देशबीचको समन्वय र सहकार्य जरुरी रहेको बताए । छिमेकी देशहरुसँगको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई विकास र प्रबर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

गोष्ठीमा संविधान सभा सदस्य सन्ध्या देव, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समितिका महासचिव नवीन गिरी, सञ्चारकर्मी, बुद्धिजीवी, विभिन्न कलेजका बिद्यार्थी गरी दुई सय जना भन्दा बढीको सहभागिता रहेको थियो । भरत बिश्वकर्माको अध्यक्षतामा भएको विचार गोष्ठीको सञ्चालन चक्र रावतले गरेका थिए ।

त्यस्तै मोरङको विराटनगरमा पनि नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य विषयक गोष्ठी आयोजना गरिएको छ ।

गोष्ठी कार्यक्रममा प्रमख अतिथि डा. निरन्जन कुमारले दुई देशबीच एकअर्कासँग गहिरो सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध हुनाले विकास क्षेत्रमा पनि नेपाल–भारत सहकार्य आवश्यक रहेको बताए ।

त्यसैगरी कार्यक्रममा राष्ट्रिय एकता अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिताले नेपाल–भारतको संस्कृति मिल्दोजुल्दो रहेको बताए । 

उनले भने,’नेपाल–भारतबीच रोटी बेटीको सम्बन्ध छ, जसले दुई देशको सम्बन्धलाई अझ मजबुत बनाएको छ, नेपालको आर्थिक विकासमा भारतको ठुलो योगदान छ, त्यसैले अब विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्छ।’

कार्यक्रममा अतिथीको रूपमा जैनेन्द्र सिंह (महेन्द्र मोरङ्ग कलेज), मैथिली सेवा समितिका अध्यक्ष फुल कुमार देव र सप्तरी कांग्रेसका नेता रामकुमार यादव लगायत अभियन्ताको सहभागिता रहेको थियो ।

कार्यक्रममा उद्घोषणको रूपमा राधा मंडलले भूमिका निर्वाह गरेकी थिइन् । सहभागीहरूलाई दिपेन्द्र यादवले स्वागत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ