arrow

राष्ट्रपतिले ३९५ कैदीबन्दीको सजाफ माफी दिइन्, सांसद अरुण चौधरी अदालतले फैसला नदिँदै छुट्दै  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
vidya-arun-kumar-chaudhary.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा जन्मकैदको सजाय भोगिरहेका पुस्कर गौतम लगायतका ३९५ जना कैदीबन्दीको सजाय माफी गरिदिएकी छिन् ।  

मन्त्रिपरिषद्को बैठकको सिफारिसका आधारमा फागुन ८ गतेबाट लागू हुने गरी उनीहरुको सजाय मिनाहा गरिएको हो । त्यस्तै विष्णुकुमार लिम्बूको पनि कैद भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी गरिएको छ । 

त्यसैगरी राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसका आधारमा गौतम समेतका १४ जना व्यक्तिलाई पनि माफी दिइएको छ । विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम उनीहरुमाथि लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवसको उपलक्ष्यमा माफी गरिएको हो । 

गौतम २०५५ सालमा ओखलढुंगामा उज्जनकुमार श्रेष्ठ हत्यामा संलग्न मध्येका एक हुन् । उनीविरुद्धको मुद्दामा जिल्ला, उच्च हुँदै सर्वोच्चले समेत गौतमलाई दोषी ठहर गरेको थियो । हाल उनी केन्द्रीय कारागारमा कैद सजाय भोगिरहेका छन् ।

त्यतिमात्र हैन राष्ट्रपतिले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई पनि माफी दिएकी छिन् । चौधरीले आफ्नो पक्राउविरुद्ध दिपायल उच्च अदालतमा दिएका दुईवटा निवेदन टुंगो नलाग्दै सरकारले माफी दिएको हो ।

उन्मुक्ति पार्टीले संस्थापक अध्यक्ष रेशम चौधरीको रिहाइ माग गरिरहेका बेला सरकारले अरुणलाई माफी दिएको हो । चौधरीले बुधबार राष्ट्रपतिलाई कैद माफी दिन पत्र लेखेका थिए भने भोलिपल्ट बुझाउनुपर्ने रकम दाखिला गरेका थिए । सरकारले बिहीबारै उनको सजाय माफीका लागि सिफारिस गरेको थियो ।

अरुण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीले २०६६ भदौ ३ मा कैलालीको साबिक बलिया–८ धोबेनी खोलास्थित सडकमा लु२त २११ नम्बरको ट्र्याक्टरमा पेट्रोल छर्किएर आगजनी गरेका थिए । 

त्यसविरुद्ध परेको मुद्दामा जिल्ला अदालत कैलालीका न्यायाधीश विष्णु सुवेदीले २०७० वैशाख ९ मा तीनै जनालाई दोषी ठहर गर्दै ६–६ महिना कैद सजाय सुनाएका थिए । 

त्यसैगरी आगजनीले ट्र्याक्टरमा पुर्‍याएको क्षतिबापत ८ लाख १९ हजार ४ सय २३ रुपैयाँ धनीलाई क्षतिपूर्ति भराउनसमेत आदेश दिइएको थियो । 

अरुणसहित सबै जना सुरुबाटै फरार थिए । बारम्बार म्याद पठाउँदा पनि उपस्थित नभएपछि अदालतले उनीहरूले ‘अपराध स्वीकार गरी बसेको’ ठहर्‍याउँदै कैद र क्षतिपूर्तिको फैसला गरेको थियो । 

गत माघ १९ मा प्रहरीले बाँकेबाट सांसद अरुण चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका सांसद चौधरी कैलाली कारागारमा कैद सजाय भोग्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ