arrow

डुम्रे-बेँसीसहर सडक विस्तार पचास प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
dumre-besisahar.JPG
फाइल तस्वीर

पोखरा । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । 

तनहुँको डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बन्न अझै ५० प्रतिशत बाँकी रहेको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए । 

उनका अनुसार यतिबेला चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै पाइप कल्भर्ट, स्ल्याब कल्भटको काम सम्पन्न भएको छ । कालोपत्रका लागि सडकको स्तर मिलाउने कार्य भइरहेको छ । 

सडकको नाली बनाउने कार्य पनि भइरहेको उक्त कार्यालयका सूचना अधिकारी अधिकारीको भनाइ छ । कामलाई तत्काल प्रभाव पार्ने यस सडकभित्र रहेको २० बिजुलीका खम्बा र १८ टेलिफोनका खम्बा हटाउन पहल भइरहेको छ । यस सडकको निर्माण कार्य लक्ष्यअनुसार भइरहेको उनको दाबी छ । 

आगामी वर्षायाममा काम करिब तीन महिना प्रभावित हुने र निर्धारित समयमा काम सम्पन्न नहुने भएकाले यतिबेला तीव्र रुपमा काम गर्दै निर्धारित समयमै सम्पन्न गराउने कोसिसमा रहेको सूचना अधिकारी अधिकारीले बताए ।

तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण हुने यो सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको छ । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ । 

यस्तै १०÷१० मिटरको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको ‘क्यारिज वे’(भारवाहन सडक) रहेकामा अब सात मिटरको हुने उक्त योजना कार्यालयले जनाएको छ ।

यस्तै दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक÷एक मिटरको नाली निर्माण हुने भएको छ । उक्त कार्यालयका अनुसार यस सडकको सो काम विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते सम्झौता गरेको थियो । सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुने भएको छ । 

कालोपत्र सकिएपछि पेन्टिङ गर्ने र किलोमिटर पोस्ट राखिने बताइएको छ । डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दूरी रहेको छ । यस सडकको तनहुँको डुम्रेदेखि लमजुङकोे सिमाना पाउँदी बजारसम्म २४ किलोमिटरको छ ।

यस सडकका लागि भ्याट र पिएसबाहेक रु ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकामा कम्पनीले रु ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको उक्त कार्यालयले जनाएको छ  । 

यस पहिलो चरणको निर्माण कार्य सम्पन्न भएलगत्तै सडकको अन्य कामसमेत अघि बढ्ने बताइएको छ । डुम्रे बजारबाट विसं २०२९ मा खन्न शुरु गरिएको यो सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पुर्याउन करिब साढे एक दशक लागेको थियो । 

विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि एक लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे-बेँसीसहरको यस सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्ने गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ