arrow

चीन र जापानबीच चार वर्षपछि पहिलो पटक सुरक्षा वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
china-japan-security-talk.jpg

काठमाडौं। चीन र जापानबीच चार वर्षमा पहिलो पटक औपचारिक सुरक्षा वार्ता शुरु भएको छ। चिनियाँ अधिकारीहरूले टोकियोको सैन्य निर्माण र जापानी कूटनीतिज्ञहरूले बेइजिङको रुससँगको घनिष्ठ सम्बन्ध एवं जासुसी बेलुनहरूको संदिग्ध प्रयोगको उद्देश्यमा चिन्ता व्यक्त गरेका छन् ।

दुवै देशबीच तनाव कम गर्ने उद्देश्यले बुधबार जापानको राजधानीमा वार्ता शुरु भएको हो । रुसले युक्रेनमा आक्रमण गरे झैं चीनले ताइवानमा आक्रमण गर्न सक्छ र जापान र संयुक्त राज्य अमेरिकाबीच द्वन्द्व सिर्जना हुने चिन्ताकाबीच जापान र चीनबीच सुरक्षा वार्ता भएको हो।

जापानले गत डिसेम्बरमा चीनलाई सैन्य कारबाही गर्नबाट रोक्नको लागि आगामी पाँच वर्षमा रक्षा खर्च दोब्बर गरी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २ प्रतिशतमा पुर्‍याउने बताएको थियो । 

कुल ३२० अमेरिकी डलरको यो योजना अन्तर्गत टोकियोले मुख्यभूमि चीनमा प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्रहरू प्राप्त गर्ने र जापानले संयुक्त राज्य अमेरिकाको ठूलो शक्तिसँगै द्वन्द्वलाई कायम राख्न आवश्यक अन्य हतियारहरू भण्डार गर्ने योजना पनि बनाएको छ। गत वर्ष रक्षा खर्च ७.१ प्रतिशतले बढाएको बेइजिङले आफ्नो सशस्त्र बलमा जापानको भन्दा चार गुणा बढी खर्च गर्छ ।

बुधबारको वार्ताको प्रारम्भमा चिनियाँ उप विदेशमन्त्री सुन वेइडोङले जापानको बदलिँदो सुरक्षा स्थितिप्रति चिन्ता व्यक्त गरेका छन् ।

'अन्तर्राष्ट्रिय सुरक्षा स्थितिमा ठूलो परिवर्तन आएको छ र हामी एकपक्षीयता, संरक्षणवाद र शीतयुद्धको मानसिकताको पुनरागमन देखिरहेका छौं,' उपमन्त्रीले बैठकको शुरुमा भनेका छन्।

यस्तै जापानी उप विदेशमन्त्री शिगेओ यामादाले पूर्वी चीन सागरमा जापानको सेन्काकु र चीनको डियाओयु भनेर चिनिने निर्जन टापुहरूमा दुवै मुलुक क्षेत्रीय विवादमा परेकोमा चिन्ता व्यक्त गरेका छन् ।

यस्तै उनले रुससँग बेइजिङको हालैको संयुक्त सैन्य अभ्यास र सन् २०१९ देखि कम्तीमा तीन पटक जापानको आकाशमा देखिएका शंकास्पद चिनियाँ कथित जासुसी बेलुनको मुद्दा पनि उनले उठाएका थिए।

चीन र जापानबीच पछिल्लो सुरक्षा वार्ता सन् २०१९ फेब्रुअरीमा बेइजिङमा भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ