बाइडेनले भने- आणविक सन्धिबाट बाहिरिने पुटिनको निर्णय 'ठूलो गल्ती'
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
1.8k
Shares
काठमाडौं। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका-रुस आणविक हतियार नियन्त्रण सन्धिमा मास्कोको सहभागिता निलम्बन गर्ने निर्णयलाई 'ठूलो गल्ती' भएको भनेका छन्।
अमेरिकी राष्ट्रपति बाइडेनले पोल्याण्डमा आफ्नो युद्धकालको युरोप भ्रमण समाप्त गर्ने क्रममा बुधबार यस्तो टिप्पणी गरेका हुन्। नेटोको पूर्वी भागका सहयोगीहरूसँग साझेदारी सुधार गर्ने उद्देश्यले बाइडेनले पूर्वी युरोपेली लिडरहरू र नेटो प्रमुख जेन्स स्टोल्टनबर्गसँग वार्सामा भेट वार्ता गरेका थिए।
'यो गर्नु ठूलो गल्ती हो, धेरै जिम्मेवार छैन।तर उनले आणविक हतियार वा त्यस्ता अन्य चीजहरू प्रयोग गर्ने बारे सोचिरहेका छन् भन्ने मैले पढेको छैन,' बाइडेनले आणविक हतियारको प्रयोग गर्नेतर्फ रुस अघि नबढेको उनको भनाइ छ।
मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'स्टार्ट हतियार सन्धि'मा मास्कोको सहभागिता राज्य सम्बोधनका क्रममा निलम्बन गरिने घोषणा गरेका थिए । यो निर्णयलाई बुधबार रूसी सांसदहरूले अनुमोदन गरिसकेका छन्। सन् २०१० को यो सम्झौता मार्फत दुई राष्ट्रहरूले परमाणु हतियारको भण्डार सीमित गर्ने प्रतिबद्ध गरेका थिए।
बुल्गेरिया, चेक रिपब्लिक, इस्टोनिया, हंगेरी, लाटभिया, लिथुआनिया, पोल्याण्ड, रोमानिया र स्लोभाकिया समावेश बुखारेस्ट नाइनलाई सम्बोधन गर्दै बाइडेनले भनेका छन्,'तपाईँ हाम्रो सामूहिक रक्षाको अग्रपङ्क्ति हुनुहुन्छ, र यस द्वन्द्वले युरोप मात्र नभई विश्वभर लोकतन्त्रको स्वतन्त्रताका लागि कति जोखिम छ भन्ने कुरा अरूलाई भन्दा तपाईँलाई बढी थाहा छ।'