arrow

पर्ख र हेरको अवस्थामा रास्वपा, बोलायो केन्द्रीय समिति बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
rsp-rastriya-swatantra-party-meeting-.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चितवन–२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । 

पार्टी कार्यालय वसुन्धारामा सोमबारका लागि बोलाइएको बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए । 
 
गत पुस १० मा बनेको सात दलीय सत्तागठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकामा सरकारबाट बाहिरिए पनि सरकारबाट अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन । सत्ताधारी गठबन्धनमा केही फेरबदल आएकाले पनि रास्वपाले सो विषयमा समेत निर्णय लिन सक्ने बुझिएको छ । 

राष्ट्रपतिको निर्वाचनका लागि कांग्रेस वा एमालेका उम्मेदवारको प्रस्तावक वा समर्थकमा  रास्वपा बसेको छैन । केन्द्रीय समिति बैठकबाट उक्त दलले यसबारे स्पष्ट नीति तय गर्ने बताइएको छ ।

तर रास्वपा एक सांसदका अनुसार रास्वपा पर्ख र हेरको अवस्थामा रहेको छ । उनका अनुसार पार्टीले फागुन २५ गतेसम्म निर्णय गर्नेछ । 

शनिबार नै राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रास्वपाका सभापति रवि लामिछानेलाई भेटेर भोट मागेका छन् । उनले पनि दिने आश्वासन दिएका छन् । 

तर रास्वपाले चितवनको उपनिर्वाचनलाई प्रतिष्ठा बनाएकाले पनि पर्ख र हेरकै अवस्थामा रहेको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ