arrow

राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
president-election-nepal1.jpg

काठमाडौं । आजदेखि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आजदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता जारी गरेको हो ।

आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था तथा त्यसका कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्ठन, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागु हुनेछ ।

आचारसंहिता अनुसार उम्मेदवारको पक्ष वा विपक्षमा सरकारले प्रचार गर्न पाउने छैन। आयोजनाको शिलान्यास तथा उद्घाटन गर्न पनि रोक लगाइएको छ।

निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको हो । आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड-७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ ।

 संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ ।

 यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि नेपाली कांग्रेससहित ८ दलका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवास नेम्वाङले उम्मेदवार रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ