arrow

किसानले पाउने दूधको मूल्य ह्वात्तै बढ्यो, भार उपभोक्तामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २० शनिबार
milk.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले किसानले पाउने दूधको मूल्य ह्वात्तै बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाइरहेको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाउने निर्णय गरेको हो । 

दूधको बजार मूल्यको तुलनामा किसानले पाउने मूल्य धेरै कम रहेकाले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन् । 

किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ५६।४० रुपैयाँ पाउँदै आएका थिए । अब प्रतिलिटर ६५।५० रुपैयाँ पाउने छन् । किसानलाई आर्थिक राहत हुने गरी कच्चा दूधको मूल्य बढाइएको हो । किसानले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको आधारमा उक्त मूल्य पाउने छन् ।

यसअघि मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ गते एकलौटी रूपमा प्रतिलिटर १४ रुपैयाँ बढाएका थिए । 

तर चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरेको थियो । त्यसपश्चात् अध्ययनका नाममा सरकारसँग मिलेमतो गरी प्रतिलिटर १४ रुपैयाँ बढाउने तयारी थियो । त्यसको पनि विरोध भएपछि दाना, चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको निष्कर्ष निकाल्दै राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कृषि मन्त्रालयमा प्रस्ताव गरेको थियो । 

बढेको मूल्य सिधै किसानले पाउने दाबी सरकारले गरे पनि मूल्य वृद्धिको प्रत्यक्ष भार सिधै उपभोक्तामा पर्नेछ । अब उपभोक्ताको थाप्लोमा पनि करिब १० देखि १४ रुपैयाँ बढ्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ