साउनभित्र दुई लाख दश हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने मन्त्रालयको तयारी
धानबालीका लागि किसानलाई राहत हुने
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
193
Shares
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। मुख्य बालीका रूपमा रहेको धानका लागि आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्दै किसानलाई राहत दिन मन्त्रालयले विभिन्न माध्यमबाट आयात प्रक्रियालाई तीव्रता दिएको हो।
मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा भारतबाट ३० हजार मेट्रिक टन युरिया मल असार अन्तिमदेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्नेछ। भारतसँग जीटूजीमार्फत भएको कुल ८० हजार मेट्रिक टनको सम्झौतामध्ये बाँकी ५० हजार मेट्रिक टन मल पनि साउनको दोस्रो साताभित्रै नेपाल भित्रिनेछ।
त्यसैगरी, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने मन्त्रालयको योजना छ। यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो सातासम्म नेपाल भित्र्याउने लक्ष्य राखिएको छ। ओमनमा लोड हुने प्रक्रियामा रहेको अर्को ३० हजार मेट्रिक टन युरिया मल असार अन्तिमसम्म कलकत्ता आइपुग्ने र साउनको दोस्रो साताभित्र नेपाल आइपुग्नेछ।
यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका अनुसार ३० हजार मेट्रिक टन डीएपी मल होर्मुज जलडमरू पार गरी भिसाखापट्नम बन्दरगाहमा पुगिसकेको छ, जुन असार १० देखि २० गतेभित्रै नेपाल आइपुग्नेछ। यसका साथै थप ३० हजार मेट्रिक टन युरिया मल जहाजमा लोड भइसकेकाले साउन पहिलो साता कलकत्ता बन्दरगाह हुँदै साउन अन्तिमसम्ममा नेपाल आइपुग्ने सुनिश्चित भएको छ।
मध्यपूर्वमा जारी तनाव र द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता तथा आपूर्ति शृङ्खलामा ठूलो चुनौती थपिएको भए पनि नेपाली किसानका लागि मलको अभाव हुन नदिन मन्त्रालय निरन्तर लागिपरेको छ। चालू आर्थिक वर्षभित्र देशभरीका कृषकहरूलाई कुल ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने मन्त्रालयको दीर्घकालीन लक्ष्य छ।