arrow

ट्युनिसियामा राष्ट्रपतिको कारबाहीपछि सयौँ आप्रवासीको भागभाग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
tunisia.jpg

ट्युनिसिया । पश्चिम अफ्रिकी आप्रवासीलाई लिएर आएको दुई उडानमध्ये पहिलो उडानमा शनिबार १०० भन्दा बढी मालीवासीले ट्युनिसिया छोडेको एक कूटनीतिज्ञले एएफपीलाई बताएका छन् ।

गत फेब्रुअरीमा राष्ट्रपति काइस सैयदले अनियमित आप्रवासन नियन्त्रणका लागि ‘तत्काल कदम चाल्न’ अधिकारीहरूलाई आदेश दिएका थिए ।

‘ट्युनिसियाको जनसाङ्खिकीय बनावट परिवर्तन गर्न’ ‘आपराधिक षडयन्त्र’ भइरहेको दाबी उनको छ ।

सैयदले उत्तर अफ्रिकी देशमा हुने अधिकांश अपराधमा आप्रवासीको हात रहेको आरोप लगाउँदै समुदायविरुद्ध बर्खास्ती, निष्कासन र भौतिक आक्रमणको क्रम बढेको आरोप लगाए ।

अफ्रिकी सङ्घले सैयदको टिप्पणीको ‘रूप र सारमा गहिरो दुःख र चिन्ता’ व्यक्त गरेको छ । उप–सहारा अफ्रिकाका सरकारहरूले सहयोगका लागि उनीहरूको दूतावासहरूमा भेला भएका सयौँं भयभीत नागरिकहरूको स्वदेश फिर्तीको व्यवस्था गर्न कोसिस गरिरहेका छन् ।

गिनीका ५० जनाको पहिलो समूहलाई बुधबार स्वदेश फर्काइएको थियो ।

मालीका १३३ जना नागरिक लिएर शनिबार मध्याह्नतिर ट्युनिसियाबाट एउटा विमान उडेको मालीका एक कूटनीतिज्ञले बताएका छन् ।

उक्त समूहमा २५ जना महिला, नौ जना बालबालिका र २५ जना विद्यार्थी रहेको नाम नबताउने शर्तमा उनले बताए ।

आइभोरी कोस्टले शनिबार विशेष उडानमार्फत् करिब १४५ जनालाई स्वदेश फर्काउने तयारी गरेको कूटनीतिज्ञ तथा सामुदायिक आयोजकले बताएका छन् ।

मालीका समूहलाई टुनिसस्थित आफ्नो दूतावासबाट बिहानै बसमा चढेर विमानस्थलतर्फ जाँदै गरेको एएफपीका फोटोपत्रकारले पुष्टि गरे ।

‘ट्युनिसियालीहरूले हामीलाई मन पराउँदैनन्, त्यसैले हामी जान बाध्य भएका छौं,’ बस चढ्नुअघि आप्रबासी शरणार्थी बग्रेसु सेगोले एएफपीसँग भने ।

चार वर्षअघि ट्युनिसिया पुगेका अद्रहमेन डोम्बियाले विश्वविद्यालयको अध्ययन बीचैमा रोक्नुपरेको बताए ।

उनले भने, “म सुरक्षित छैन त्यसैले म फिर्ता जाँदैछु ।”

मालीका अर्का आप्रवासी बारिलले आफूसँग ट्युनिसियामा बस्ने अनुमति भए पनि स्वदेश फर्कने विमानमा सामेल भएको बताए ।

“हामी राष्ट्रपति काइस सैयदलाई हाम्रा अन्य भाइहरूलाई विचार गर्न र उनीहरूलाई राम्रो व्यवहार गर्न निकै सम्मानका साथ आग्रह गर्दछौं,” उनले एएफपीसँग भने ।

आधिकारिक तथ्याङ्कअनुसार करिब एक करोड २० लाख जनसङ्ख्या रहेको ट्युनिसियामा अफ्रिकाका अन्य भागबाट आएका करिब २१ हजार कागजातविहीन आप्रवासी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ