arrow

पोखरामा फागुपूर्णिमाको हर्षोल्लास, पर्यटकसमेत रमाए [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
Holi Pokhara.jpg

पोखरा । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा रङ्गको माध्यमबाट एकापसमा खुशी साटासाट गर्ने पर्व फागुपूर्णिमा आज हर्षोल्लासका साथ मनाइएको छ ।

पोखरा बजारसहित पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा स्वदेशीसहित विदेशी पर्यटकले समेत एकापसमा विभिन्न रङ्ग तथा अबिर दलेर होलीमा रमाएका छन् ।

पोखरा घुम्न आएका पर्यटकले एकापसमा रङ्ग दलेर शुभकामना आदानप्रदान गरी होली मनाएका हुन् । पोखरामा विभिन्न सङ्घसंस्थाले समेत सामूहिक होली मनाएका छन् । 

नेपाल पत्रकार महासङ्घ कास्की शाखाले महासङ्घको भवनमा होली मिलन कार्यक्रम गरेको थियो । सञ्चारकर्मीहरुले रङ्ग दलेर शुभकामना आदानप्रदान गरी होली मनाएका छन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनले समेत सामूहिक होली मनाए । पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकदेखि डिहीकोपाटनसम्मको तीन किमी क्षेत्रमा पर्यटकले रङ्ग लगाउँदै र नाच्दै गाउँदै होलीको रमाइलो गरे । फेवाताल किनारमा समेत होली मनाउनेहरुको सङ्ख्या उत्तिकै थियो ।

पर्यटकहरु ‘ह्याप्पी होली’ भन्दै रङ्ग लगाएर खुसी साटासाट गरिरहेका थिए । आन्तरिक पर्यटकसहित भारतीय र तेस्रो मुलुकबाट घुम्न आएका पर्यटकहरु होलीमा सहभागी भएका हुन् ।

फागुपूर्णिमाका अवसरमा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले होली महोत्सवको आयोजना गरेको थियो । महोत्सवमा विभिन्न साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो । पर्यटकहरु महोत्सवमा रमाएका थिए । 

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहभागी गराई नेपालको संस्कृति र पर्वका बारेमा जानकारी गराउँदै एकापसमा मित्रता र सद्भाव साटासाट गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको रेवान पोखराका महासचिव विकास भट्टराईले बताए ।

उनले भने, “आन्तरिक तथा बाह्य पर्यटकलाई सामूहिक होली मनाउने अवसर प्रदान गर्न महोत्सव आयोजना गरेका हौँ । यसले पोखराको पर्यटन प्रवर्द्धनमा समेत मद्दत पुगेको छ ।”

पर्वका अवसरमा घट्न सक्ने घट्नालाई दृष्टिगत गरी बिहानदेखि पोखराको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रहरीले बजारका विभिन्न क्षेत्रमा जाँच गरी अवाञ्छित क्रियाकलाप हुन नदिन सतर्कता बढाएको थियो । पर्व मनाउने नाममा व्यक्तिको इच्छा विपरीत जथाभावी रङ्ग दल्ने, लोला हान्ने, सार्वजनिक स्थानमा होहल्ला गर्ने लगायतका कार्यलाई नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा देशभर होली पर्व मनाउने प्रचलन छ । होलीमा एकापसमा रङ्ग दलेर पर्व मनाउने गरिन्छ । तराईमा भने भोलि हर्षोल्लासका साथ होली मनाउने गरिन्छ ।

तस्बिरहरु

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ