arrow

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
Pokhara international airport nepal.jpg

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित रुपमा रात्रिकालीन उडान शुरु हुने भएको छ ।

विमानस्थलमा उपकरणका आधारमा विमान उडान/अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान शुरु गर्न लागेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो । हाल विमानस्थलबाट बिहान ६ देखि साँझ ४ बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ बजेसम्म उडान गर्न सकिने बताइन्छ ।

आज साँझ पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । उनका अनुसार हालसम्म बुद्ध बाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेश गरेका छैनन् ।

उनले भने, “पोखरा विमानस्थल रात्रिकालीन हवाई उडानका लागि योग्य भएपछि बुद्धले रातको समयमासमेत औपचारिक उडान शुरु गर्दैछ । बुद्धका चार विमानले देशका विभिन्न भागबाट पोखराका लागि उडान गर्नेछन् ।”

यसअघि गत फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भएपनि सो उडान नियमित तालिका अनुसार थिएन । मौसमको खराबीका कारण तालिका ढिलाई भएकाले राति अवतरण गरेको थियो ।

बुद्धका प्रवक्ता दीपेन्द्र कर्णले राति ८ बजेसम्म सेवा दिने गरी रात्रिकालीन उडानको तालिका बनाइएको बताए । बुद्धका चार वटा जहाज राति पोखरामा नै रात्रि विसान गर्नेछन् ।

कर्णका अनुसार आज काठमाडौंबाट पोखराका लागि बेलुकी ७ः३५ बजे, भद्रपुर-पोखरा साँझ ६ः५५ बजे, भैरहवादेखि पोखरा साँझ ७ः२५ बजे र नेपालगञ्जबाट पोखराका लागि साँझ ७ः२० बजे उडान हुनेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रात्रिकालीन उडान हुने भएसंगै विशेषगरि पोखरेली पर्यटन व्यवसायी खुशी भएका छन् । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भने अझै अन्योलमा छ । विमानस्थल गत जनवरी १ मा शुभारम्भ गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ