काठमाडौं। नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले बुधबार हालैका महिनाहरूमा भीषण लडाइँमा परेको पूर्वी युक्रेनको सहर बाख्मुट आगामी दिनमा रुसको हातमा पर्न सक्ने बताएका छन्।
'हामीले के देख्छौं की रुसले धेरै सेना, धेरै बल पठाइ रहेको छ र रुससँग गुणस्तरमा कमी भएको कुरा तिनीहरूले मात्रामा बनाउन खोज्छन्,' स्टोल्टेनबर्गले स्वीडेनको राजधानी स्टकहोममा ईयूका रक्षा मन्त्रीहरूको बैठक पछि भनेका छन् ।
'उनीहरूले ठूलो नोक्सान बेहोरेका छन्, तर यसै बिच हामी आगामी दिनहरूमा बाख्मुटको पतन हुन सक्छ भन्ने कुरालाई नकार्न सक्दैनौं,' उनले भनेका छन्।
ट्रान्स एट्लान्टिक गठबन्धनका प्रमुख स्टोल्टनबर्गले यसका सदस्य राष्ट्रहरूलाई युक्रेनलाई ऋण सहयोग जारी राख्न आग्रह गरेका छन्। 'यसले दर्शाउँछ कि हामीले रूसलाई कम आँकलन गर्नु हुँदैन, हामीले युक्रेनलाई सहयोग जारी राख्नुपर्छ,' उनले भने।
स्टोल्टेनबर्गले बुधबार पश्चिमी सैन्य गठबन्धनमा सदस्यताको लागि स्वीडेन र फिनल्याण्डको अवरुद्ध बोलीले प्रगति गरेको बताएका छन्। ब्रसेल्समा नेटो मुख्यालयमा स्विडेन, फिनल्याण्ड र टर्कीका अधिकारीहरूसँगको बैठक अघि उनले यस्तो भनेका हुन्।
'प्रक्रिया भोलि टुङ्गिन्छ भन्ने मलाई आशा छैन। तर म विश्वस्त छु कि फिनल्याण्ड, स्वीडेन नेटोको सहयोगी बन्नेछन्,' स्टोल्टेनबर्गले स्टकहोममा सञ्चारकर्मीहरूसँग बोल्दै भनेका छन्।
यसैबीच, युरोपेली संघका विदेश मामिला प्रमुख जोसेप बोरेलले बुधबार आफुले नेटोलाई आफ्नो स्टक भर्न र युक्रेनको लागि संयुक्त रूपमा गोला बारुद किन्न १ अर्ब युरो खर्च गर्न आग्रह गरेको बताएका छन्। स्टकहोममा युरोपेली संघका रक्षा मन्त्रीहरूको बैठकपछि उनले यस्तो बताएका हुन्।