arrow

आफैभित्र लड्दै नेविसंघ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
Ansan nsu.jpg

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) को असन्तुष्ट पक्षले पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस) मा आमरण अनसन शुरु गरेको छ ।

टिकट वितरणमा नेतृत्वबाट हस्तक्षेप भएको आरोप लगाउदै नेविसंघका नेता सन्तोष थपलिया र विभीषण ओलीले आमरण अनसन शुरु गरेका हुन् । 

निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने, नयाँ निर्वाचन अधिकृत तोकेर निर्वाचन कार्यतालिका फेरि पुरानै प्रक्रियाबाट शुरु गर्नुपर्ने उनीहरुको माग छ ।

आगामी चैत ५ मा हुने स्ववियु निर्वाचनका लागि गत फागुन २७ मा मनोनयन दर्ता भएको थियो । मनोनयन गर्दा गर्दा नेविसंघ क्याम्पस इकाइसँग सहकार्य नगरिकन नेविसंघको जिल्ला समितिले एक्कासि मनोनयन बुझाएकोले इकाइ अध्यक्षबाहेक अन्य पदाधिकारी तथा सदस्य असन्तुष्ट बनेको बताइन्छ ।

क्याम्पस इकाइका कुल २१ मध्ये तीन उपसभापति, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्षसहित १७ जनाले सोही दिन राजीनामा बुझाएका थिए । 

त्यसको दुई दिनपछि मनोनयनको अन्तिम नामावलीमा समानुपातिकमा आफ्नो नाम समावेश गरिएकोमा सो समूहले तीव्र असन्तुष्टि जनाएको हो । 

नेविसंघ क्याम्पस इकाइ समिति उपसभापति विवेक घिमिरेले आफ्नो उपस्थितिबिनै समानुपातिकमा नाम समावेश गरिएको बताए ।

यस्तो असहज परिस्थितिमा कुनै पनि हालतमा चुनाव नलड्ने र विद्यार्थीले राखेका माग सम्बोधन हुनुपर्ने उनको माग छ ।

यहि विषयलाई लिएर स्ववियु निर्वाचन कार्यालय र क्याम्पस प्रशासन दुवैमा तालाबन्दी गरिएको छ । 

निर्वाचन अधिकृत राजेश भट्टराईले असहज परिस्थितिमा काम गर्न नसक्ने भनी मंगलबार क्याम्पस प्रमुखलाई राजीनामा बुझाइसकेका छन् । 

यता, क्याम्पस प्रमुख निर्मल बरालले एउटा संगठन भित्रको घर झगडा स्ववियु चुनावमाथि पोखिएको भन्दै दुःख व्यक्त गरे । 

शैक्षिक संस्था राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ भनी नारा दिने तर विद्यार्थी निर्वाचनमा हस्तक्षेपकारी नीतिले चुनावी कार्यक्रम बिथोल्न खोजिएको उनले बताए ।

करिब १७ सय मतदाता रहेको इन्जिनियरिङ कलेजमा अघिल्लो पटक अनेरास्ववियुले चुनाव जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ