लण्डन । बेलायती सरकारी फोनमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको बेलायती सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । क्याबिनेट कार्यालयका मन्त्री ओलिभर डाउडेनले बिहीबार नै सांसदहरूलाई ‘सरकारी उपकरणहरूको सुरक्षा’बारे सम्बोधन गर्ने बताइएको छ ।
बेलायती सञ्चारमाध्यम बीबीसी र स्काई न्यूजले चिनियाँ स्वामित्वमा रहेको भिडियो सेयर गरिने एपमाथि प्रतिबन्ध लगाउन लागेको बताएका छन् ।
प्रधानमन्त्री ऋषि सुनकको कार्यालयले यस साता सुरक्षा चासोका बारेमा पटक–पटक सोधपुछ गर्दा पनि मौन बसेको छ ।
सोमबार संयुक्त राज्य अमेरिकाको भ्रमणका क्रममा सुनकले सरकारले ‘उपकरणहरूको सुरक्षालाई’ गम्भीरतापूर्वक लिएको बताए । उनले भने, “हामी हाम्रा सहयोगीहरूले के गरिरहेका छन् भनेर पनि हेर्छौं ।”
सन्डे टाइम्सले गत साता साइबर सुरक्षा विज्ञहरूले सरकारलाई टिकटक हटाउन सिफारिस गर्न सुझाव दिएको उल्लेख गरेको थियो ।
टिकटक चीनको बाइटडान्सको स्वामित्वमा रहेको छ र यसले लामो समयदेखि चीनमा डाटा नराख्ने वा बेइजिङसँग साझेदारी नगर्ने बताउँदै आएको छ ।