arrow

पोखराका अधिकांश क्याम्पसमा स्ववीयू निर्वाचन रोकिने निश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
PNC Pokhara.jpg

पोखरा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पोखराका सबैजसो क्याम्पसमा रोकिने निश्चित भएको छ । पछिल्लोपटक पोखरास्थित इन्जिनियरिङ्ग अध्ययन संस्थानमा निर्वाचन स्थगित गरिएको सूचना जारी गरिएपछि पोखराका सबैजसो क्याम्पसमा निर्वाचन नहुने स्थिति सिर्जना भएको हो ।

पोखरास्थित पृथ्वीनारायण क्याम्पस, नसिङ्ग क्याम्पस, वन क्याम्पस र जनप्रिय बहुमुखी क्याम्पसका साथै विन्दवासिनी संस्कृत क्याम्पसमा स्ववीयुको निर्वाचन हुने कार्यतिलिका रहेको थियो । यी क्याम्पसहरुको स्ववीयु निर्वाचन कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गर्दै विभिन्न बाहना बनाएर अदालत पुगेका छन् । 

इन्जिनियरिङ्ग क्याम्पस प्रमुख निर्मलप्रसाद बरालले शुक्रबार साँझ अर्को सूचना जारी नभएसम्मका लागि स्ववीयु निर्वाचन स्थगित भएको जानकारी दिएका छन् । यो सूचना जारी भएसंगै पोखराको क्याम्पसमा नेपाल विद्यार्थी संघले लगाएको ताला भने खुलेको छ । 

यता, पृथ्वीनारायण बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहको नाममा संगठन दर्ता गरिएको भन्दै अदालतमा मुद्धा दायर भएको छ । अदालतले तत्काल निर्वाचन प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको छ । 

अदालतले चैत्र २ गते निर्णय दिने बताएपनि अदालतबाट कुनै निर्णय आउन नसकेपछि यस क्याम्पसमा पनि स्ववीयु चुनाव अनिश्चित बनेको छ । 

यता, पोखराको नर्सिङ्ग क्याम्पसमा कांग्रेस निकट नेविसंघ, अनेरास्ववीयु र अखिल क्रान्तिकारी मिलेर संयुक्त टिम बनाएर चुनावी प्रतिस्पर्धाको तयारी भइरहेको थियो ।

यस क्याम्पसको स्ववीयुका अध्यक्ष पदकी उम्मेद्वार अञ्जना अधिकारी बेनी जिल्ला अस्पताल र कोषाध्यक्षको उम्मेद्वार बनेकी दीपिका धिताल रुकुमस्थित स्वास्थ्य कार्यालयमा निजामती सेवातर्फ स्थायी नर्सकोरुपमा कार्यरत रहेको खुल्यो ।

नेविसंघले त्यसको विरुद्धमा उम्मेद्वारी खारेजीको माग गर्दै उच्च अदालत पोखरामा मुद्दा दायर गरेको छ । 

अदालतले दुबै पक्षलाई झिकाएर छलफल गर्ने र त्यसपछि मात्र निर्णय दिने आदेश गरेपछि यस क्याम्पसमा पनि स्ववीयु चुनाव अनिश्चित भएको छ । 

यस्तै, संस्कृत क्याम्पसमा अनेरास्ववीयुले ताला लगाएपछि निर्वाचन प्रक्रिया अवरुद्ध बनेको छ भने वन क्याम्पसमा विभिन्न विद्यार्थी संगठनको नामबाट तालाबन्दी भएपछि उम्मेदवारी दर्तासमेत हुन सकेको छैन ।

यता, जनप्रिय बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनले यथाशीघ्र चुनावी प्रकिया अघि बढाउन माग गरेपनि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ