arrow

पहिलो पटक बस पुगेपछि खुशीयाली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
Bus.jpg

म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका-५ को मलम्पारमा पहिलो पटक बस पुगेको छ । 

धवलागिरि गाउँपालिका वडा नं. ६ को मराङ-राम्चे, बुल हुँदै मलम्पारसम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेको हो । यात्रु लिएर पहिलो पटक गाउँमा पुगेको ध१ख ११७ नंको बस र चालक श्रीप्रसाद पुनलाई मलम्पारवासीले फूलमाला लगाएर स्वागत गरेका छन् । 

गाउँमा पहिलो पटक बस आएपछि मलम्पारवासीले खुसियाली मनाएका छन् । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा बुल, मलम्पार हुँदै वडा नं ५ को केन्द्र मल्कवाङ सडक सञ्जालमा जोडिएको छ । 

गत वर्ष मराङ हुँदै बुल र मल्कवाङदेखि दैडाडामा पुगेको सडकलाई यसपालि जोडेर वडा नं ५ र ६ को चक्रपथ बनाइएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए । 

“मलम्पारबाट सडकलाई वडा नं ६ को बुल जोडेर चक्रपथ बनाइएको छ”, उनले भने, “मल्कवाङ-मलम्पार सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले रु २५ लाख र प्रदेश सरकारबाट रु १० लाख बजेट विनियोजन भएको थियो ।” यसपालिको बजेटबाट पाँच किलोमिटर नयाँ मार्ग निर्माण भएको छ । 

सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङसम्मको करिब एक घण्टा ३० मिनेटको बाटो २० मिनेटमै छोटिएको छ । मलम्पारका एक सय ५० घरधुरी यो सडकबाट लाभान्वित भएको वडाध्यक्ष अमर छन्त्यालले बताए । 

मलम्पारका बासिन्दालाई दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न, सदरमुकाम, वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्न सहज भएको छ । मलम्पारमा उत्पादन हुने आलु, सिमी, जडीबुटी र भेडाबाख्रा निकासी गर्न सहज भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ