arrow

ललितपुर मेयर कपको उपाधि जित्न कोशी एक सय ५५ रनको चुनौती पछ्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
lalitpur-mayors-cup-apf-koshi.jpeg

काठमाडौं । ललितपुर मेयर महिला च्याम्पियनशिप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि कोशी प्रदेशले १५५ रनको चुनौती पछ्याउँदैछ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको सशस्त्र प्रहरीको एपीएफले १ विकेटको क्षतिमा १५४ रन बनायो । 

१८ रन जोड्दा ज्योती पाण्डेलाई व्यक्तिगत २ रनमा गुमाएको सशस्त्रले त्यसपछि विकेट गुमाएन । दोस्रो विकेटका लागि अविजित १३६ रनको साझेदारी गर्ने क्रममा कप्तान सीता रानामगरले ६८ बलमा २ छक्का र ९ चौकाको मद्धतले ७९ रन बनाइन् ।

इन्दू बर्माले ४१ बलमा १ छक्का र ५ चौकाको मद्धतले ५१ रन बनाइन् । अलिशा शाक्यले मात्रै विकेट लिइन् । सबैभन्दा महँगी सावित भएकी रुबिना क्षेत्रीले ४० रन खर्चेकी थिइन् । 

सशस्त्र साविक विजेता हो । अपराजित रुपमा फाइनलमा स्थान बनाएको एपीएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो ।

गत वर्षको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । तेस्रो संस्करणमा कोशी भने पहिलो पटक फाइनल खेलिरहेको हो । 

प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपीएफ क्लब र मधेस प्रदेश तथा आयोजक ललितपुर मेयर्स गरी पाँच टोलीको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ