- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ललितपुर मेयर महिला च्याम्पियनशिप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको फाइनलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै सशस्त्रले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको सशस्त्र प्रहरीको एपीएफले १ विकेटको क्षतिमा १५४ रन बनायो ।
१८ रन जोड्दा ज्योती पाण्डेलाई व्यक्तिगत २ रनमा गुमाएको सशस्त्रले त्यसपछि विकेट गुमाएन । दोस्रो विकेटका लागि अविजित १३६ रनको साझेदारी गर्ने क्रममा कप्तान सीता रानामगरले ६८ बलमा २ छक्का र ९ चौकाको मद्धतले ७९ रन बनाइन् ।
इन्दू बर्माले ४१ बलमा १ छक्का र ५ चौकाको मद्धतले ५१ रन बनाइन् । अलिशा शाक्यले मात्रै विकेट लिइन् । सबैभन्दा महँगी सावित भएकी रुबिना क्षेत्रीले ४० रन खर्चेकी थिइन् ।
जवाफमा कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०० रनमात्र बनायो । कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३५ रन बनाएको इनिङ्सलाई सस्तैमा रोक्ने क्रममा बिनु बुढाले २ थतथा नेरी थापा, सोनु खड्का र रेखा रावलले १–१ विकेट लिए ।
सीता प्लेयर अफ द फाइनल भइन् ।
अपराजित रुपमा फाइनलमा स्थान बनाएको एपीएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो ।
गत वर्षको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । तेस्रो संस्करणमा कोशीले भने पहिलो पटक फाइनल खेलेको हो ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपीएफ क्लब र मधेस प्रदेश तथा आयोजक ललितपुर मेयर्स गरी पाँच टोलीको सहभागिता रहेको थियो ।