arrow

महासङ्घको आसन्न निर्वाचनमा उमेशलाल समूहको उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
umesh-lal-shrestha-team-fncci.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहले ७ ओटै प्रदेश उद्योग वाणिज्य महासङ्घका अध्यक्षलाई मञ्चमा राखेर उम्मेदवारी घोषणा गरेको छ। सोमबार एक कार्यक्रबीच ७ ओटै प्रदेश अध्यक्षको समर्थनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

सो समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन्। यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरू सरकारसँग जोडदार रूपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफू पुनः सोही समूहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेका हुन्।

यस्तै बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् भने एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य रहेका छन्। सो समूहबाट वस्तुगततर्फ उपाध्यक्ष र १४ सदस्य सहित प्यानलले नै उम्मेदवारी घोषणा गरेको छन्।

उम्मेदवारी घोषणा कार्यक्रममामा प्रदेश अध्यक्षहरूले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको विकल्प नभएको र सबै प्रदेशले सर्वसम्मत रूपमा समर्थन गर्ने बताएका छन्। उम्मेदवारी घोषणा कार्यक्रममा प्रदेश अध्यक्षहरुले अहिले महासङ्घको साख गिर्दो अवस्थामा रहेको र अबका दिनमा व्यवसायीका समस्या सरकारमाझ पुर्‍याउनका लागि पनि उमेशलालजस्तो निडर प्रस्ट वक्ताको आवश्यकता खड्किएको बताएका थिए। ‘अहिले महासङ्घको जुन साख र प्रतिष्ठा थियो अहिले धेरै नै खस्किएको छ,’ प्रदेश अध्यक्षहरूले भने, ‘अबका दिनमा महासङ्घको उक्त साखलाई जोगाउँदै व्यवसायीका समस्याहरू सरकारमाझ राखेर समस्या समाधान गर्नका निमित्त पनि सबै उद्योगी व्यवसायीले वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठलाई जिताउनु आवश्यक छ।’

उक्त उम्मेदवारी घोषणा कार्यक्रममा कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मदेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा विशेष कारणले गर्दा लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण शर्मा र सूदर पश्चिम अध्यक्ष शङ्कर बोगटी भने उपस्थित हुन सकेका थिएनन्।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले उद्योगी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहको रूपमा आफूहरू अघि बढेको बताए। ‘देश आक्रान्त र अस्थिर छ भने आर्थिक रूपमा खस्किएको छ। यस्तो अवस्थामा निजी क्षेत्रको क्याप्टेनसीप दिन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु,’ घोषणा सभामा उनले भने, ‘ मेरो विगतमा गरेको काम नै मेरो योग्यता हो। म निडर छु र व्यवसायीका आवाज बोल्छु, पक्कै पनि यहाँहरूले अमूल्य मत दिएर मलाई विजयी गराउनुहुने छ भन्ने आशा र विश्वास छ।’ 

विशेष गरी नियामक निकाय नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको कामलाई नियमन नगर्दा अहिले समस्या निम्तिएको समेत उनले जानकारी दिए। ‘राष्ट्र बैङ्क नियामक निकाय भएपछि बैङ्क तथा वित्तीय संस्थाले के कस्ता क्षेत्रमा कर्जा प्रवाह गरिरहेका छन् भनेर नियमन गर्नुपर्दथ्यो,’ उनले भने, ‘कोभिडको समयमा बैङ्कमा निक्षेप थुप्रिदा बैङ्कका कर्मचारीले घरघरमा पुगेर कर्जा दिए तर त्यो कर्जा केका लागि दिइयो भनेर कसैले अनुगमन गरेनन्।’ कोरोनापछि बैङ्कले गरेको लगानीका सही सदुपयोग नहुँदा देशमा उद्योग कलकारखाना धराशायी बन्न पुगेको समेत उनको भनाई थियो।

यस्तै एसोसिएट्तर्फका उपाध्यक्ष भरत आचार्यले अहिले देशको अर्थतन्त्र र उद्योगी व्यवसायीका समस्या समाधान गर्न आफूले उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको बताए। ‘अहिले हाम्रो लागत बढी हुँदै गएको छ भने रोजगारी पनि सोही अनुरूप घटिरहेको छ,’ उनले भने, ‘लागत न्युनिकरणबिना उद्योगको विकास छैन।’ यस अघि आफ्नो नेतृत्वमा धेरै खालका व्यवसायीमैत्री नीति नियम बनाएको र त्यसलाई निरन्तरता दिई कार्यान्वयनमा लैजानका लागि समेत आफूले उपाध्यक्षमा उठ्ने लागेको जानकारी दिए।

साथै एसोसिएट्स उपाध्यक्षले समग्र निजी क्षेत्रको रोजगारदाता परिषद्को यसले नेतृत्व गर्ने हुँदा नेपालको उत्पादकत्वसँग प्रत्यक्ष भूमिका रहेन उनको भनाई थियो। अहिलेको अवस्थामा सशक्त नेतृत्व आवश्यक र जुन भूमिका आफूले निभाउन सक्ने बताएका छन्।

कार्यक्रममा वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले आफूले निर्यात, उत्पादनमूलक, सेवा, कृषि, बैङ्किङ, सीपलगायत हरेक क्षेत्रमा आबद्ध भएर काम गर्दा वस्तुगत सङ्घहरूको समस्यालाई नजिकसँग बुझेको भन्दै वस्तुगत सङ्घका समस्या समाधानका लागि पनि आफूलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरेका छन्। ‘मैले दुई पटक वस्तुगत सङ्घबाटै सदस्यमा चुनाव जितेर यहीँ क्षेत्रका साथीहरूको हकहितका लागि काम गरिसकेको छु,’ उनले भने, ‘ महासङ्घले जिम्मेवारी दिएका हरेक क्षेत्रमा अब्बल काम गर्दै आएको र अहिले पनि सरकारसँग मिलेर कसरी यी क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ भनेर छलफल गरिरहेको छु।’ यदि आफू उपाध्यक्षमा निर्वाचित भएर गएको अवस्थामा वस्तुगत सङ्घको समस्या बुझेर समाधान गर्ने महासङ्घ बनाउने समेत उनको प्रतिबद्धता थियो।

यस्तै महासङ्घमा वस्तुगत सङ्घ भनेको ब्रेन भएको तर महासङ्घ चलायमान बनाउने उक्त सङ्घलाई स्थान नदिइएको उनको गुनासो थियो। महासङ्घ भित्र वस्तुगत सङ्घको अधिकार र दायरा फराकिलो बनाउँदै सम्पूर्ण वस्तुगत सङ्घले अपनत्व गर्ने महासङ्घ निर्माणका लागि पनि मैले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको समेत उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ