arrow

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको तीन वर्षपछि अख्तियारले चलायो मुद्दा, पौडेलसहित नौविरुद्ध दायर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
CIAAoffice.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको तीन वर्षपछि बल्ल मुद्दा चलाएको छ । अख्तियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेसलगायत खरिद प्रकरणमा मिलेमतो गरी कमिशन लिएर भ्रष्टाचार गरेको मुद्दा दायर गरेको हो ।

आइतबार अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । कार्यकारी निर्देशक पौडेल, सीडीई, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक विल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्ससमेतका निर्देशक गरी नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

उनीहरूले गैरकानूनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । निर्देशक पौडलविरुद्ध ६९ करोड आठ लाख ८१ हजार ८५४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

७० करोड खरिद घुस प्रकरणमा यसअघि एमालेका तत्कालीन संचार मन्त्री गोकुल बाँस्कोटा मुछिएका थिए । उनी मुछिएको अडियो हाम्राकुराले २०७६ सालमा नै सार्वजनिक गरेको थियो । 

यो हो त्यो समाचार–

त्यसपछि उनले वाध्य भएर २०७६ फागुन ८ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । तर अख्तियारमा उजुरी परेको भए पनि बाँस्कोटाविरुद्द राजनीतिक प्रभावमा परेर मुद्दा नचलाएको भए पनि पौडेलसहितका नौ जनालाई भने अहिले मुद्दा चलाइएको छ । 

त्यस्तै सहायक निर्देशक तथा तत्कालीन सुरक्षण मुद्रण केन्द्रका प्रतिनिधि तथा हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रमेशप्रसाद पोखरेलविरुद्ध रु २० करोड ३८ लाख ९३ हजार आठ सय २७ बिगो माग दाबी गरिएको छ ।
    
तत्कालीन सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हाल राष्ट्रिय समावेशी आयोगमा कार्यरत मणिकमान महर्जनविरुद्ध रु तीन करोड ४४ लाख ६८ हजार सात सय २९ माग दाबी गरिएको छ ।

हाल लेखा अधिकृतबाट अवकाश पाएका तत्कालीन सुरक्षण मुद्रण केन्द्रका रामबहादुर बुढाविरुद्ध रु १९ करोड ८८ लाख ९४ हजार दुई सय ८९, तत्कालीन सुरक्षण मुद्रण केन्द्र तथा हाल जिल्ला समन्वय समिति काठमाडौँमा कार्यरत शाखा अधिकृत शिरिष उपाध्यायविरुद्ध रु ४० करोड एक लाख ३९ हजार सात सय ३६ माग दाबी आयोगले गरेको छ ।

इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्धक निर्देशक रोहितमान प्रधानविरुद्ध रु २३ करोड ४४ लाख ९६ हजार नौ सय २१, मेपटेक विल्डिङ् सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनविरुद्ध रु ४३ करोड ५७ लाख ४२ हजार तीन सय ६८ र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौँविरुद्ध रु आठ लाख ६९ हजार ९७ माग दाबी गरिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मिलेमतो गरी कमिसन लिएर ठेक्का दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा अस्वाभाविक लागत राखेर मिलेमतोमा खरिद गरी करोडौँ घोटाला गरिएको पुष्टि भएपछि मुद्दा दायर गरेको प्रवक्ता दाहालले जानकारी दिए । 

विज्ञप्ति

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ