arrow

नेपालमा ६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
electric-vehicle-charging-station.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधनको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय  ५१ वटा विद्युतीय सवारी साधन आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । 

विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो । 

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट क्षमताका एक हजार सात सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन् ।

भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट एक सय किलोवाट क्षमताका तीन सय ८१, दक्षिण कोरियाबाट एक सय  किलोवाट क्षमताका दुई सय ४०, र इन्डोनोसियाबाट तीन वटा विद्युतीय सवारी साधान आयात भएका छन् । यस्तै, दक्षिण कोरियाबाट एक सयदेखि दुई सय किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, युकेबाट दुई वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट दुई सयदेखि ३०० किलोवाट क्षमताका पाँच र बेलायतबाट दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

समीक्षा अवधिमा भारतबाट मात्रै रु चार अर्ब ७१ करोड ९८ लाख बराबरको विद्युतीय सवारी आयात भएका छन् । पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर ईभी र महिन्द्राका गाडीहरु आयात भएका छन् । यस्तै चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरु आयात हुने गरेको छ ।

सात अर्बका गाडी भित्रिए
चालू आर्थिक वर्षको नौ महिनामा करिब रु सात अर्ब बराबरका विद्युतीय सवारी साधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म दुई हजार ४५१ वटा विद्युतीय सवारी आयातमा रु छ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको छ । 

विद्युतीय सवारी आयातबाट सरकारले रु एक अर्ब ९३ करोड १३ लाख ५९ लाख राजश्व संकलन गरेको छ । गत आवको सोही अवधिमा रु चार अर्ब २९ करोड ६६ लाख ३१ हजार बराबरको विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातबाट सरकारले रु एक अर्ब १६ करोड ५५ लाख २० हजार राजश्व संकलन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ