arrow

चिनियाँ ब्यापारी दादागिरी, नैरोबीपथमा ठमेल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ९ शनिबार
thamel.jpg.jpeg

काठमाडौं । नेपालमा चिनियाँ ब्यापारीहरुको बिगबिगी बढ्दो क्रममा रहेको छ । उनीहरुको दलालीकरण पनि बढ्दो क्रममा रहेको छ । जसका कारण नेपाली ब्यापारीहरुको मनोबल खस्कदै गएको पाइएको छ । 

जसरी अन्य देशका ब्यापारीहरु चिनियाँ ब्यापारीहरु विरुद्ध प्रदर्शनमै उत्रिएका छन् त्यसरी नेपाली ब्यापारीहरु सडकमा नउत्रिएको भए पनि चिनियाँहरुले ठमेलमा फैलाउँदै लगेको व्यापारिक राजले स्थानीय ब्यापारीलाई चिन्तित बनाएको छ ।

व्यापारिक केन्द्र ठमेलमा केही वर्षयता चिनियाँ व्यापारीहरु बाक्लिएका छन् र यसले नेपाली व्यवसायीको मनोबल खस्किएको हो । ठमेल विदेशी पर्यटकको रोजाइको गन्तव्य हो । विदेशी पर्यटकको बाक्लो आगमनका कारण नै ठमेलले आफ्नोपन पाएको हो । यहाँ ठूलाभन्दा स–साना व्यवसाय बढी फस्टाएका छन् । होटल–रेस्टुराँसँगै पश्मिना, हस्तकला, सोभेनियर, कफी पसल, मनी एक्सचेन्ज, ट्रेकिङ, टुरलगायत व्यवसाय ठमेलको जीवनसँग गाँसिएका छन् । तर पछिल्लो समय यसमा चिनियाँको दबदबा बढेको छ ।

एक दशक अघिसम्म त्यहाँका सबै व्यवसायका होर्डिङ बोर्डमा नेपाली र अंग्रेजी अक्षर हुने गरेकामा अहिले चिनियाँ अक्षर पनि थपिएका छन् । चिनियाँहरुको लगानी रेस्टुराँ र होटलमा सीमित छैन, कार्गो र ट्राभल एजेन्सीमा पनि फैलिरहेको छ । 

तर चिनियाँ लगानीका व्यवसायबारे कुनै निकायसँग आधिकारिक विवरण उपलब्ध छैन । चिनियाँहरु खासगरी रेस्टुराँमा लगानी बढाइरहेका छन् र ती रेस्टुराँ चीनबाटै आउने पर्यटक लक्षित छन् । ज्याठा क्षेत्रमा चिनियाँ लगानी र व्यवस्थापनका रेस्टुराँ धेरै छन् ।

सातघुम्ती र क्षेत्रपाटीमा पनि चिनियाँ व्यवसायीको वृद्धि देखिन थालेको छ । चिनियाँहरुको चासो हेल्थ क्लिनिकमा पनि थालेको छ । अक्युपन्चर पद्धतिबाट उपचार गरिने यस्ता केन्द्रको संख्या पछिल्लो समय बढ्दो क्रममा रहेको छ । 

चिनियाँ लगानी बढ्दै गर्दा वर्षौंदेखि जोगाइएको ठमेलको मौलिकतासमेत जोखिममा पर्दै गएको छ । 

ज्याठामा एउटा कम्प्लेक्सको नाम नै चाइना टाउन छ । उक्त कम्प्लेक्सका अधिकांश व्यवसायी चिनियाँ नै छन् । चिनियाँहरुले त्यस क्षेत्रमा चिनियाँ कलाकृतिका गेटहरु पनि बनाएका छन् । ठमेलमा चिनियाँ बजारको झल्को दिने उनीहरुको प्रयास छ ।

ठमेलमा जस्तै चिनियाँ व्यापारीको दबदबा अरु देशमा पनि बढेको छ । तर ती देशमा भने ब्यापारीले विरोध नै गर्ने गरेका छन् । त्यस्तै भएको छ केन्याको नैरोबीमा । 

केन्याका ब्यापारीले विरोध प्रदर्शन गरेका छन् । चिनियाँ व्यापारीले सस्तो दरमा सामान बेचेर आफूहरुलाई धरासायी बनाएको विरोधमा स्थानीय व्यापारी सडकमा उत्रिएका हुन् । 

समाचार संस्था एएनआईका अनुसार केन्याको राजधानी नैरोबीको प्रमुख व्यापारिक क्षेत्रमा सानो स्केलमा व्यापार गर्ने सयौं व्यापारीले प्रदर्शन गरेका छन् । 

चिनियाँ व्यापारीहरूले केन्याको बजारमा घूसपैठ गरेको व्यापारीहरूको आरोप छ । चिनियाँ व्यापारीहरूले डाउनटाउन सेन्टरका केन्याली व्यापारीहरू हटाउन खोजेको आरोप लगाएका छन् । 

सस्तो सामानका कारण चिनियाँ पसल उपभोक्ताहरुका लागि आकर्षक बनेका छन् । चिनियाँ स्वामित्वको चाइना स्क्वायर मल ४० भन्दा बढी व्यापारिक कम्पनीहरू मध्येको एक हो । जुन केन्याको बजारमा कम मूल्यमा आयात गरिएका सामान बेच्ने विदेशी संस्थाहरूको सञ्चालन रोक्न खोज्ने मुद्दामा फसेको छ ।

चीनबाट आयात गरिएका दैनिक उपभोग्य वस्तुहरू आफ्ना स्थानीय समकक्षीहरूले ल्याएका सामानको तुलनामा औसत ५० प्रतिशत सस्तोमा चिनियाँहरूले बिक्री गरेको भन्दै केन्याका ब्यापारीहरूको समूहले उच्च अदालतमा मुद्दा नै दायर गरेको छ ।

इन्डिजिनस क्यापिटल प्रोटेक्सन एसोसिएसन नामक समूहको संयोजकत्वमा व्यापारीहरूले केन्यामा चिनियाँ व्यापारीहरूको आगमनको विरोध गर्दै सरकारविरुद्ध मुद्दा दायर गरेका छन् ।

चिनियाँहरुले ब्यापार मात्र गर्दैनन् आफ्नो गत ब्यापारलाई प्रभावित गर्न खोज्ने जोसुकैलाई छाड्दैनन् । 

सोही घटनामा सन् २०२० मा चिनियाँ रेस्टुरेन्टमा काम गर्ने केन्याली व्यक्तिलाई कुटपिट गरेको आरोपमा चार चिनियाँ पुरुषलाई पनि देश निकाला गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ