arrow

सिकलसेलका बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा गर्दै कोहलपुर नगरपालिका

logo
सौरभ गिरी, 
प्रकाशित २०८० वैशाख १० आइतबार
kohalpur-nagarpalika-sickel-cell.jpg

नेपालगञ्ज । कोहलपुरमा सिकलसेलका बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ। आगामी आर्थिक वर्ष ०८०–०८१ देखि सिकलसेल तथा थालेसेमियाका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा हुने भएको हो । 

कोहलपुर नगरपालिकाले आइतबार वडा नं. १५ मा आयोजना गरेको सिकलसेल एनिमिया तथा थालेसेमिया रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका उप प्रमुख संगिता सुवेदीले बंशाणुगत यो रोगका बिरामीहरुको नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रतिबद्धता जनाएकी छिन्  ।

 ‘आगामी आर्थिक वर्षदेखि सिकलसेल तथा थालेसेमियाका रोगीको निःशुल्क स्वास्थ्य बीमा नगरपालिकाले गर्छ उप प्रमुख सुवेदीले भनिन् –‘उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने सवालमा नगरपालिका प्रतिबद्ध छ ।’ उनले स्वास्थ्य कोहलपुर नगरपालिकाको पहिलो प्राथमिकता रहेको पनि उल्लेख गरिन । 

नेपाल सरकारले अहिले सिकलसेलका रोगीलाई उपचार खर्च वाफत एक लाख रुपैयाँ दिने गरेको छ । जनस्वास्थ्य समस्याकै रुपमा रहेको थालेसेमियाका बिरामीहरुलाई भने राज्यले उपचार खर्च दिने गरेको छैन । सिकलसेल र थालेसेमियाका बिरामीहरुले बाँचुन्जेल उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । सिकलसेलका बिरामीलाई सरकारले उपलब्ध गराउने एक लाख रुपैयाँ रकमसमेत अपुग हुने गरेको छ ।

 कोहलपुर नगरपालिकाले सिकलसेल र थालेसेमियाका बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा गरेर उपचारको पहुँचमा ल्याउने प्रयास लक्षित समुदायका लागि निकै उपयोगी भएको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा. राजन पाण्डेले बताए ।

 थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल तथा थालेसेमियाका रोगीलाई स्वास्थ्य बीमामा समेट्न डा. पाण्डेले नीतिगत पहलको परैवी गर्दै आएका छन्  । कोहलपुर नगरपालिकाले सिकलसेल तथा थालेसेमियाका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयन गरे पहिलो पालिका हुनेछ ।

 कोहलपुर नगरपालिकामा हालसम्म ११ हजार बढीको सिकलसेल तथा थालेसेमिया परीक्षण गर्दा सिकलसेलका ९२ जना रोगी, एक हजार बढी बाहक फेला परेका छन् । त्यसैगरी एक सय ५० जना थालेसेमियाका बाहक फेला परेका छन् । 

कोहलपुर नगरपालिका वडा नं।१५ का वडाअध्यक्ष दिपेन्द्र कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सिकलसेल विज्ञ डा. पाण्डे, कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक इश्वरी प्रसाद विक, आर्थिक विकास संयोजक अनिता बुढा, स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीलगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ