arrow

सशस्त्रमा मिशनमा जानका लागि निर्देशिका, महानिरीक्षक अर्यालबाट सुडान जाने टोलीको बिदाइ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
apf-raju-aryal-sudan-mission.jpg

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) वान जुवामा कार्यरत दशौँ डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको टोलीलाई बिहीबार बिदाइ गरेका छन् । 

प्रहरी बल नेपाल प्रधान कार्यालयमा भएको बिदाइ कार्यक्रममा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफपीयू मिशनमा जाने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरे । 

महानिरीक्षक अर्यालले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठूलो जिम्मेवारी बोकेर द्वन्द्वग्रस्त  मुलुकमा सशस्त्र प्रहरी कर्मचारीहरुले चेन अफ कमाण्ड, अनुशासन र सामूहिक भावनाका साथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानूनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वाससमेत व्यक्त गरे ।

उनले सो टोलीलाई संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा समग्र संगठन र राज्यले आर्जन गरेको छविलाई आँच आउन नदिने गरी जनताले अपेक्षा गरे बमोजिम विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै विश्व शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सीप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिए । 


 
 महानिरीक्षक अर्यालले एफपीयू मिशन छनोट निर्देशिका बनिसकेकाले अब १५ वर्ष सेवा अवधि पुगिसकेकाहरुले मात्र सहभागी हुन पाउने र सशस्त्र प्रहरी कर्मचारीहरुको त्याग, उर्जा समर्पण र जेष्ठताको समेत मूल्याङ्कन हुने बताए ।

मिसनमा खटिइ जान लागेको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुले शुभकामना सहित हार्दिक बिदाई गरे । 

सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक लाईबेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा बन्द भएको हो । 

त्यसअघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हालेका थिए ।

सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् । छिल्लो पटक सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनको लागि १ सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्ने छ । 

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्धवबहादुर न्यौपानेको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३४ जना जुनियर अधिकृत र १ सय ३० विल्लादार जवानहरु गरी जम्मा १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरु बैशाख १६ गते साँझ त्यसतर्फ प्रस्थान गर्ने सशस्त्र प्रहरी नायव उपरीक्षक सहप्रवक्ता शैलेन्द्र थापाले बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ