arrow

संसदमा भ्रष्टाचारको मुद्दा, कसले के भने ? [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
arzu-rana-deuba-parliament-2080.jpg

काठमाडौँ । सङ्घीय संसद्को आइतबार अपराह्नदेखि शुरु भएको बजेट अधिवेशनको बैठकको पहिलो दिन बेग्लै परिदृश्य देखियो । निर्धारित समय ४ बजेभन्दा १५ मिनेट ढिला गरी शुरु भएको बैठकको शुरुमै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले आकस्मिक समय लिएर बोल्ने अनुमति मागे । लगत्तै स्वतन्त्र सांसद अमेरशकुमार सिंहले उभिएर केही भन्न खोज्दै थिए । त्यही बीचमा नेकपा एमालेका सांसद रघुजी पन्तले पनि बोल्नका लागि सभामुखतिर इसारा गरे । 

यसरी उठेर बोल्न चाहने सांसदको सङ्ख्या बाक्लो भएपछि सभामुखले पटक–पटक बैठक सञ्चालनका लागि सहजीकरण गरिदिन सांसदहरुलाई आग्रह गरे । “माननीय सदस्यहरु दोस्रो अधिवेशनको पहिलो बैठक शुरु भइरहेको छ, यसका केही नियम र पद्धतिहरु छन् यसलाई पूरा गरेपछि बोल्नुहोला, पहिलो बैठक औपचारिक शुरु हुन दिनुस् बाँकी के कसरी चलाउने हो सल्लाह गरेर गरुँला”, सभामुख घिमिरेले भने । 

सभामुखले उठेका सांसदलाई बसेर बैठक शुरु हुने वातावरण बनाउन अनुरोध गरे । तर, सभामुखको आग्रहलाई बेवास्ता गर्दै केही सांसदहरुले निरन्तर बोल्नका लागि उभिएर सङ्केत गरिरहे । 

“संसद्को कारबाही शुरु गरेपछि आफ्नो कुरा राख्नुहोला म बोल्नका लागि समय निर्धारण गर्नेछु”, घिमिरेले भने ।  यस्तो साङ्केतिक जुहारी करिब १० मिनेट चलेपछि सभामुखले बैठक प्रारम्भ भएको घोषणा गर्दै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाए । त्यसपछि बैठकमा लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि जीवन अर्पण गर्ने ज्ञात अज्ञात शहीदहरुप्रति बैठकले १ मिनेट मौनधारण गरियो ।

बैठकमा पहिलो वक्ताका रुपमा सांसद प्रेम सुवालले भुटानी शरणार्थीका विषयमा दोषीलाई कानूनी दायरामा ल्याउनेदेखि नागरिकता र खोप इञ्जिनियरिङ कलेजको विषय उठाए । उनले भ्रष्टाचारको छानबिन हुनुपर्ने भन्दै संचारमाध्यममा आएका समाचारको शीर्षक पढेर सुनाए । 

सांसद अमरेशकुमार सिंहले सर्वदलीय भ्रष्टाचार हुने गरेको आरोप लगाउँदै पछिल्लो भूटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गरे । सबै भ्रष्टाचारको उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कानूनी दायरामा ल्याउन उनले माग गरे । 

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भ्रष्टाचारका सवालमा ‘यो टेलर मात्रै हो फिल्म देखाउन बाँकी नै छ’ भन्ने विषयको प्रसङ्ग उल्लेख गर्दै मुलुकमा भएका सबै किसिमका भ्रष्टाचार र अनियमितताप्रति आफ्नो पार्टी एकताबद्धका साथ दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको बताए । “हामी फिल्म हेर्न टिकट काटेर बसेका छौँ फिल्म देखाउनुस् वाइडबडी, यतिलगायत सबै काण्डको छानबिन गरियोस्”, उनले भने ।

एमालेकै सचेतक महेशकुमार बर्तौलाले यतिबेला सिङ्गो देशको ध्यान नेपालीलाई भूटानी शरणार्थी बनाएर अर्बौैैैँ घोटला गर्ने र दोषीलाई उम्काउने खेल भइरहेको भन्दै यस्ता घटनाको सत्यपक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । 

एमाले सांसद सूर्य थापाले भ्रष्टाचारको फिल्म हेर्न आफू पनि तयार रहेको बताए । त्यसपछि सांसद बोलिसकेपछि पुनः सभामुखले सांसदलाई बस्न र नियम पालना गर्न अनुरोध गरे । 

जवाफमा सत्तारूढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलका सांसदहरुले छापामार शैलीमा आफ्ना कुरा राखेको भन्दै प्रमुख प्रतिपक्ष साँच्चिकै भ्रष्टाचारीलाई कारबाही गर्न चाहेको हो भने इमान्दार हुन आग्रह गरे । उनले प्रधानमन्त्रीले राखेका कुरा खिसिटिउरी गरिरहनुले विषयलाई विषयान्तर गर्ने र खिसिटिउरी गरिरहेको भन्दै इमान्दारीपूर्वक नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सांसद एवं एमाले सचिव टोपबहादुर रायामाझीलाई पक्राउ गर्न सहयोग गरेको खण्डमा काफी हुने उल्लेख गरे । 

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘नेपालको राजनीतिमा जो बढी बदमास त्यही बढी डकार्छ’ भन्दै भ्रष्टाचार र अनियमिततामा दोषी जोकोहीलाई संसदीय समिति बनाएर कारबाही गर्न माग गरे । 

एमाले सांसद रघुजी पन्तले आरोप–प्रत्यारोप चलेको भन्दै पार्टी संविधान र कानूनको पालनामा प्रतिबद्ध रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचारीलाई उम्कन दिन नहुने बताए । 

कांग्रेसका सांसद सुनील शर्माले नक्कली भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए । सांसद सरिता प्रसाईंले भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्नु हुन्न, निर्दोष उम्कनु हुन्न भनिन् । 

सांसद रञ्जुकुमारी झाले भ्रष्टाचारको मामिलामा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानूनी दायरामा ल्याइनुपर्ने बताए । उनले नागरिकतासम्बन्धी आम नेपालीको समस्या भएकाले यसमा राजनीति नगरी संविधान र कानुनसम्मत ढङ्गले अघि बढाएर पीडित जनतालाई न्याय दिनुपर्ने औँल्याए । 

सांसद आरजू राणा देउवाले आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टीकाटिप्पणी भइरहेको बताइन् । उनले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गरिन् । 

यसैबीच नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा आरजू पनि मुछिएकी छिन् । उनीसँगै पूर्व गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य मञ्जु खाँण पनि मुछिएकी छिन् । सांसदद्धयलाई पैसा बुझाएको दाबी गरिएको अडिओ सार्वजनिकसमेत भएको छ । 

सांसद हरि ढकालले विगत ३३ वर्षमा धेरै भ्रष्टाचारका काण्ड भएको भन्दै आयोग बनाएर भ्रष्टाचारीको छानबिन हुनुपर्ने माग गरे । उनले सरकारले भूटानी शरणार्थीसम्बन्धी छानबिन गर्ने तदारुकता देखाएकोप्रति धन्यवाद ज्ञापन पनि गरे । 

सांसद मेटमणि चौधरीले तत्कालीन गृहसचिव, मन्त्री र उच्चपदस्थ अधिकारी भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको खुल्दै गएकाले यो कार्यमा संलग्न सरकार प्रमुखलाईसमेत कारबाही गर्नुपर्ने माग गरे । 

सांसद दीपकबहादुर सिंहले सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढङ्गले उठाउन नसकेको बताए । सांसदहरुले आकस्मिक समयमा समसामयिक विषयमा समधारणा राखिसकेपछि बैठक कार्यसूचीमा प्रवेश गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ