arrow

बाँदर उद्यान बनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
monkey-corn.jpg

बलेवा ।   जैमिनी नगरपालिका–८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरुआत गरिएको छ । धार्मिक र ऐतिहासिक स्थलको पर्यटनबाहेक यहाँ जैमिनी नगरपालिकाका बाँदरको सङ्कलन गरेर फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो । 

बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल थालेको हो । जैमिनी नगरपालिका र डिभिजन वन कार्यालय बागलुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको दुःख हटाउन संरक्षण पार्क बनाउने योजना सञ्चालन गर्ने सहमति भएको छ । साथै भेलाले बाँदर पार्क बनाउन आवस्यक सहयोग गरिदिन गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारलाई लेखी पठाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले बताए । 

भेलामा नगर प्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा, जिल्ला वन अधिकृत मुकुन्द अधिकारी, सबै वडा अध्यक्ष र कार्यपालिका सदस्य तथा स्थानीय सहभागी थिए । उनीहरुले जैमिनी नगरपालिकाभित्रको बसाइँसराइ रोक्न बाँदर आतङ्क रोक्नुपर्ने धारणा राखेका थिए ।

वडा वडामा बाँदरको समस्या भएपछि कतिपयले घरै छाडेर बसाइ सरेका छन् । घरहरु रित्तिन थालेको र खेतीपाती लगाउने क्रम घटेपछि बस्तीमा छिरेर बाँदरले आतङ्क मच्चाउने गरेको किसानको गुनासो छ । यहाँ बनाउने योजना गरिएअनुसार बाँदरलाई संरक्षण गरेर राख्ने, जङ्गलमै खाने व्यवस्थापन गर्दा समुदायमा खेतीपाती जोगाउने समस्या नहुने सहभागीको भनाइ थियो । 

कालीगण्डकी करिडोरको छिस्ती सडकदेखि ११ किमी यात्रा गरेपछि पुरानो गाउँ पुगिन्छ । करिडोर कालोपत्रे भएपछि यहाँ पुग्ने सडकस्तरीय बनाउँदा पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने स्थानीयको मत छ । पालिकाले लगानी गरेर स्तरीय सडक बनाउने र संरक्षणको अभियानबारे प्रचार गर्दा तराई झरेका स्थानीय र उनीहरुको सङ्गतबाट गर्मी छल्न आउने पर्यटक प्रसस्त हुने अनुमान छ । 

यहाँ हरेक वर्ष जेठमा मेलासमेत लाग्छ । भलिबललगायतको खेलमा धेरै टिमले भाग लिन्छन् । यहा धार्मिक रुपमा मठमन्दिर पनि छन् । हाँडीकोटबाट पनि यो स्थान देखिन्छ । त्यसैले पर्यटन प्रवद्र्धनका क्रियाकलाप सञ्चालन गर्दा पुरानो गाउँको महत्व बढाएर नगरको आम्दानीको स्रोतसमेत बनाउन सकिने बताइएको छ । नगरपालिकाले आगामी वर्ष बजेट र कार्यक्रममार्फत पुनारो गाउँको सम्बोधन गर्ने जनप्रतिनिधिले बताए । पुरानो गाउँ राष्ट्रिय वन क्षेत्र हो । यहाँ स्थानीयले उपभोग गर्दै आएका चार सामुदायिक वनसमेत जोडिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ