arrow

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रचण्डले रोके महानिरीक्षक कुँवरको विदेश भ्रमण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
basanta-kunwar-igp-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको पहिलो विदेश भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईजीपी कुँवरको अमेरिका भ्रमण रोकेका हुन् । 

आईजीपी भएपछि पहिलो विदेश भ्रमण तय गरेकोमा प्रधानमन्त्री प्रचण्डले तत्कालै सो भ्रमण रद्द गरेर अरुलाई पठाउन आदेश दिएपछि उनी अमेरिका जानबाट रोकिएका हुन् । मुलुकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान चलिरहेको र त्यो अनुसन्धान प्रभावित हुनसक्ने भन्दै उनको भ्रमणमा रोक लगाइएको हो । 

कुँवर चैतमा आईजीपी नियुक्त भएका थिए । अमेरिकामा हुने लिडरशिप एक्सचेन्ज कार्यक्रममा भाग लिन जान लागेका आईजीपी कुँवरको भ्रमण तय भएको थियो ।  सो कार्यक्रममा भाग लिन नेपाल प्रहरीका एआईजीको टोलीलाई पठाइएको छ । 

भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको र सो अनुसन्धान प्रभावित हुनसक्ने भन्दै आइजीपीको भ्रमण अनुमति नदिएको प्रधानमन्त्रीका एक स्वकीय सचिवालय सदस्यले बताए ।

 ‘आइतबार साँझ मात्रै आईजीपीको भ्रमणमा रोक लगाइएको हो । प्रहरीले हतारमा अर्को निर्णय गर्नुपर्यो, सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको नेतृत्वमा अर्को टोली पठाइएको छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । 

आईजीपी कुँवरको भ्रमण रद्द भएपछि एआईजीको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका गएको हो । टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रबहादुर धामी र प्रहरी उपरीक्षक सन्तोष खड्का रहेका छन् । 

बैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसी र न्यूयोर्कमा सञ्चालन हुने उक्त कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यस सम्बन्धी ज्ञान तथा अनुभव आदान प्रदान जनाइएको छ । 

‘आईजीपीको भ्रमण अचानक रद्द भयो, प्रधानमन्त्रीले नै उहाँलाई मुलुकबाहिर नजान निर्देशन दिनु भएको हो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । नक्कली भुटानी शरणार्थी प्रकरणमा यतिबेला पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । उनले आफू आफैँ आत्मसमर्पण गर्न आउने भन्दै प्रहरीलाई झुक्याएर फरार भएका थिए । 

यहाँनेर प्रकाउ पुर्जी जारी भइसकेपछि पक्राउ गर्न गएको प्रहरी अभियुक्तले भनेको भरमा छाड्दा ठूलो नोक्सान भएको छ । रायमाझी फरार भएपछि ७७ वटै जिल्लामा उनलाई पक्राउ गर्न सर्कुलर जारी गरिएको छ । उनी भारतमासमेत गएर लुकेको हुनसक्ने आशंकामा भारतीय प्रहरीसँगसमेत पनि समन्वय भइरहेको बताइएको छ । 

त्यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खाँण पनि शंकाको घेरामा तानिएका छन् । तर उनले आफू दोषी नभएको भन्दै प्रहरीलाई सहयोग गर्ने बताउँदै आएका छन् । त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा र खाँणपत्नी मञ्जु खाँणले पनि करोडौँ रुपैयाँ लिएको भन्दै अडियो सार्वजनिक भएको छ । त्यो विषयमा आरजू देउवाले आरोप अस्वीकार गर्दै संसदमा आपत्ति जनाइसकेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ