arrow

संक्रमणकालीन विधेयकबारे तीन दलबीच सहमति, समितिका काम चाँडै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
prachanda-deuba-oli-2080-01-30.jpg

काठमाडौं । विचाराधीन संक्रमणकालीन विधेयक अगाडि बढाउने विषयमा शीर्ष तीन दलका शीर्ष नेताहरुबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा संक्रमणकालीन विधेयक अगाडि बढाउने विषयमा सहमति भएको हो । 

त्यस्तै संघीय संसद्‌का समिति सभापति चयन गर्ने विषयमा पनि सहमति जुटेको हो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको हो । 

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सार्वजनिक लेखा समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) र प्रतिनिधि सभाको एक थप समितिको सभापति एमालेबाट हुने सहमति भएको छ ।

बाँकी आठ समितिका सभापति सत्तारुढ दलहरुबाट हुने सहमति भएको छ । 

संवैधानिक परिषद् सम्बन्धी विधेयक पनि मिलाएर अगाडि लैजाने सहमति भएको नेता नेम्वाङले बताए । तीन दलबीच सहमति भएअनुसार काम भएमा संसदीय समिति तत्काल संचालनमा आउने छन् । 

यता संसदीय सुनुवाइ समितिले पूर्णता नपाउँदा अहिलेसम्म प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको सुनुवाइ भएर नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

यसअघि नै संवैधानिक परिषदले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई बनाउने सिफारिस गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ