arrow

नेप्सेमा हरियाली: आर्थिक वर्षको अन्तमा बोनसको लोभ वा अरू केही ?

logo
निश्चलराज दवाडी
प्रकाशित २०८० जेठ ५ शुक्रबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौं। केन्द्रीय बैङ्कले मौद्रिक नीति सार्वजनिक गरेसँगै थोरै ब्याज दरमा केही परिवर्तन तथा मात्रात्मक सहजता महसुसले नेप्सेका लगानीकर्ताहरूमा केही आशा पलाएको जस्तै पुँजी बजारले यस हप्ता ३९ अङ्कको वृद्धिमा कारोबार बन्द गरेको छ । बजेट भाषणको दिन नजिकिँदै गर्दाको हरियालीले लगानीकर्ता भविष्यको पुँजी बजार प्रति केही आशावादी रहेको या अन्य कारण के होला भन्न प्रश्न सृजना भएको छ ।

बजार भावनाले दिशा निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा लगानीकर्ताहरूले मन्दीको चापमा भविष्य प्रति कसरी आशावादी हुन सक्ने भनी प्रश्नहरूका बिच बढेको नेप्सेमा लगानीकर्ताहरू के आत्मविश्वास अनि कस्ता जोखिम मनोविज्ञानका कारण बजार वृद्धि भइरहेको प्रक्षेपण के का आधारमा गर्ने भन्ने प्रश्न उब्जिएको बेला १८३८ अङ्क बाट कारोबार सुचारु गरेको नेप्से परिसुचकमा आइतबार १६.३५ अङ्क तथा सोमबार ३.३३ अङ्कको गिरावट आएको थियो । मङ्गलवार ३.३१ अङ्क को वृद्धि देखेको नेप्सेमा बुधवार र बिहीबार क्रमशः २३.४० तथा ३२.३० अङ्क को वृद्धि आएको थियो । 

असार मसान्तसँगै बोनस/लाभांश प्रतिफल निर्धारण हुने हुँदा हाल बजार १८०० अङ्कमा रहँदा नै त्यस्ता प्याकेज सुनिश्चित गर्न शेयर खरिद गर्न तर्फ अग्रसर भएको या अन्य कुराको कारण भन्ने छिनोफानो नेपाली पुँजीबजारको भविष्यले नै निर्धारण गर्ला तर विगत केही हप्ता देखि पहिरो गएको नेप्सेले यस हप्ता भने सक्रिय लगानीकर्ताहरूलाई केही आशाको किरण भने अवश्य पनि ल्याएको छ।

यस हप्ता नेप्सेले १८०७ अङ्क को रेजिस्टेन्सी तोडेर नेप्सेले ओरालो यात्रा तय गर्ने सङ्केतहरू देखिएता पनि बुधवार र बिहीबार अचानक केही मात्रामा बढेको मागले नेप्से धराशायी हुन बाट बचेको तथा नेप्से पुनः १८७७.३२ अङ्क माथि उठ्न सफल भयो । यसै गरी अन्य परिसूचक जस्तै सेन्सेटिभ इन्डेक्स ३५८.१८, सेन्सेटिभ फ्लोट इन्डेक्स १९.३६, तथा फ्लोट इन्डेक्स १३१.४१ अङ्क पुगेको छ भने यी सबै परिसूचकमा यस हप्ता केही सकारात्मकता देख्न सकिन्छ ।

नेप्सेका अन्य उप-परिसूचक जस्तै बैङ्किङ इन्डेक्स १२४२.४६, होटेल तथा पर्यटन ३५५७.९२, हाइड्रोपावर इन्डेक्स २३६३.५२, विकास बैङ्क ३५०९.०९, उत्पादन तथा प्रशोधन ४४३४.४९, नन-लाइफ इन्सुरेन्स परिसूचक ८७६२.८९, फाइनान्स परिसूचक १५८५.८५, व्यापार परिसूचक २०८६.२०, लघुवित्त उप-परिसूचक ३३६१.१०, लाइफ इन्सुरेन्स ९४९१.३६, लगानी समूह ६४.६१, म्युतुअल फण्ड उप परिसूचक १३.६२ तथा अन्य परिसूचक १३४३.८० मा कायम रह्यो । यस हप्ता होटेल तथा पर्यटन, विकास बैङ्क, नन लाइफ इन्सुरेन्स, लघुवित्त तथा लाइफ इन्सुरेन्स उप परिसूचकमा १०० अङ्क भन्दा माथि वृद्धि भएको देख्न सकिन्छ ।

बजारमा अबको यात्रा २३०० तर्फ भन्ने हल्लाहरू बढ्दै जाँदा, बजार २३०० या सो भन्दा माथि धकेलिने या असार मसान्त पछि बजार पुनः नकारात्मक हुने आधारभूत तर्क खोज्दै शेयर बजारमा उत्रनु पर्ने तथा हल्लाको पछाडि भन्दा पनि शेयर किन्न खोजेको कम्पनीको बारेमा मात्रात्मक तथा गुणात्मक विश्लेषण गरे पश्चात् मात्र उत्रनु पर्ने सल्लाहहरू वित्तीय विश्लेषकहरूले दिँदै आएका छन् । 

आर्थिक वर्षको अन्त्यमा नाफा गणना तथा लाभांश वितरण हुने हुँदा धेरै जस्ता लगानीकर्ताहरू बोनस तथा लाभांश का लागि पनि लगानी गर्दै आएको देख्न सकिन्छ । यसलाई अर्को आधार मान्ने हो भने भोलिको नाफा/बोनस सुनिश्चितता गर्न पनि हालको बजार बढेको आकलन गर्न सकिन्छ । 

ज्येष्ठ १५ मा आउने बजेटले केही राहत दिने आशामा पनि यो बजार बढेको हुन सक्छ भने  विशेष गरी आर्थिक वर्षको अन्त्यमा हुने इन्साइडर ट्रेडिंग अथवा राष्ट्रिय नीति नियम कार्यक्रम वा कम्पनीको, गोपनीय तथा गैर-सार्वजनिक जानकारीको चुहावटका कारण धितोपत्र बजारमा निकै चलखेल हुने कुरा नौलो होइन । यस्ता विशेषाधिकार प्राप्त गर्ने तथा जानकारीमा पहुँच राख्ने व्यक्तिहरूले नीति-कार्यक्रम वा कम्पनीको यथास्थिति तथा गोपनीय जानकारी पाएर अनुचित लाभ लिने कोसिस गरिरहेका हुन्छन् । 

न्याय क्षेत्रमा अवैध मानिने इन्साइडर ट्रेडिङले वित्तीय बजारमा निष्पक्षता र समानताको सिद्धान्तलाई कमजोर बनाउने तथा गैर-सार्वजनिक जानकारीमा पहुँच भएकाहरूलाई सार्वजनिक रूपमा उपलब्ध जानकारीको आधारमा पुँजी बजारबाट अनुचित फाइदा लिने जस्ता समस्या पहिला पनि हुँदै आएको अभिलेखहरू भेट्न सकिन्छ र यसैका कारण पनि धेरै लगानीकर्ता फस्न सक्ने हुँदा यस्तो स्थितिको बारमा सजग रहन वित्तीय विश्लेषकहरूको सुझाव रहेको छ ।

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ