काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज बुधबार झिनो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक ०.०८ अङ्कले उकालो लागेर २,७०५.५३ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२० अङ्कले घटेर ४६४.४३ मा सीमित भएको छ। आज बजारमा कुल ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० रुपैयाँ मूल्यमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहन सफल भएको छ। त्यस्तै बजारमा सर्वाधिक रकमको कारोबार हुने अन्य अग्रणी कम्पनीहरूमा क्रमशः रिलायन्स स्पिनिङ मिल्स, बुङ्गल हाइड्रो, सेन्ट्रल फाइनान्स र आँखु खोला जलविद्युत् कम्पनी रहेका छन्।
आजको कारोबारबाट सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, बुङ्गल हाइड्रो, त्रिशूली जलविद्युत् कम्पनी र एबिएल डिबेन्चरका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्। अर्कातर्फ, बजार संकुचित हुँदा एनएमबी डिबेन्चर, प्राइम डिबेन्चर, एबिएस डिबेन्चर, डोल्टी पावर कम्पनी र लक्ष्मी उन्नति कोषका लगानीकर्ताहरूले भने आज सबैभन्दा बढी गुमाउनु परेको छ।