- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । २०७६ साल चैतमा नेपालमा कोरोना महामारीको शुरुआती चरण थियो । सरकारले प्रयोगशाला विज्ञका रुपमा नियुक्त गरेर भाइरोलोजिष्ट सुलभ आचार्यसहितको विज्ञ टोलीलाई खटाइसकेको थियो । आचार्यसहितको टिमको जिम्मा थियो कोरोना परीक्षणका लागि पीसीआर परीक्षण संचालन गर्ने र परीक्षण दर बढाउने । त्यसका लागि पीसीआरमा दख्खल भएको जनशक्ति नेपालमै न्यून थियो । आचार्यसहितको टिम पीसीआर मेसिन संचालन गर्ने गरी चितवन पुग्यो ।
टिमले पीसीआर मेसिन संचालनको लागि उपयुक्त ठाउँ पशुपंक्षी अन्वेशन प्रयोगशाला ठहर गर्यो । तर प्रयोगशालाको स्थिति दुरावस्था थियो । मेयर रेणु दाहाल, जिल्लाको उच्च सुरक्षा निकायको पहलमा तत्काल सरसफाईदेखि रंगरोगन गरियो । रामपुरबाट पीसीआर मेसिन लगियो ।
भरतपुर क्यान्सर अस्पतालबाट सेफ्टी क्याविनेट झिकाइयो । माइक्रो सेन्टिफ्युजको व्यवस्थापन गरियो । संचालनमा आयो पीसीआर मेसिन । तत्कालीन समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड महामारी नियन्त्रण प्रमुख कमान्डेट डा. गुणराज लोहनीको निर्देशनमा ४८ घण्टाभित्र पीसीआर मेसिन संचालन गर्ने गरी टिम चितवन पुगेको थियो ।
‘तर हाम्रो टिमले २४ घण्टामै संचालन गर्यौं’ आचार्य सम्झन्छन् । यस्तो महामारीमा सबै जनमानसहरु भएको अवस्थामा आचार्यको पहलमा कोरोना महामारीमा थुप्रै ठाउँमा पीसीआरर सेवा संचालन भयो । पीसीआर परिक्षण गर्न सक्ने अनुभवी जनशक्ति नभएको अवस्थामा आचार्यले त्यस्ता मेसिनहरु संचालनका लागि प्रयोगशालाकर्मीहरुलाई प्राविधिक तालिम दिँदै हिडे ।
कतै आफैँ उपस्थिति भएर तालिम दिए भने कतै भर्चुअल माध्यममा तालिम दिएर प्राविधिक ज्ञान दिए । भेरी अस्पताल नेपालगञ्ज, जुम्ला, दाङ, दैलेख, सुर्खेत, धनगढीसहितका ठाउँमा पुगेर उनले पीसीआर मेसिन संचालनका लागि महत्वपूर्ण योगदान पुर्याए । जसका कारण समयमै कोरोना भाइरस पत्ता लगाएर उपचार र निदानमा ठूलो सहयोग पुर्यायो ।
किन आवश्यक छ नियमित ल्याव परीक्षण ?
नियमित प्रयोगशालाको परीक्षण गर्दा कुनै पनि रोगको शुरुआती चरणमा नै रोग पत्ता लगाउन सकिन्छ । क्यान्सर, मुटु सम्बन्धी रोग, मधुमेह, भनेको शुरुआती दिनमा बिना लक्षणको हुन्छ । तर ल्याव परीक्षण गर्ने हो भने यसको अवस्था पत्ता लगाउन सहज हुन्छ । यसरी शुरुआती दिनमै रोग पत्ता लगाउन सकियो भने उपचार समयमै हुने र बिरामीलाई थप जटिलता आउनबाट जोगाउन सकिन्छ भने खर्च पनि जोगाउन सकिन्छ ।
आफ्नो स्वास्थ्यलाई नियमित परिक्षण गरायौं भने रोगहरुको रोकथामबारे ज्ञान लिन सक्छौं र डाक्टरहरुको सल्लाह बमोजिम आफ्नो आहारविहारको सन्तुलन कायम गर्न सकिन्छ । यसले तनाव व्यवस्थापनमा पनि ठूलो भूमिका निर्वाह गर्छ । प्रयोगशाला परीक्षणहरु प्रायः हाम्रो स्वास्थ्यमा आएका परिवर्तनहरु हेर्नको लागि नियमित जाँचका भागहरु हुन् ।
को हुन् सुलभ आचार्य ?
बर्दियाको बारबर्दियामा २०४४ साल कार्तिक १६ गते सुलभ आचार्यको जन्मभयो । उनका बुबा शरदकुमार, आमा सरितासँगै एक दिदी र एक भाइ छन् । प्रारम्भिक अध्ययन बर्दियाको गुलरियास्थित बागेश्वरी इङ्गलिश स्कुलमा भयो । १ देखि कक्षा ३ सम्म बागेश्वरीमा अध्ययन गरिसकेपछि कक्षा ४ देखि एसएलसी भने उनले नेपालगन्जको ब्राइटल्याण्ड स्कुलबाट गरे ।
पढाइमा अब्बल आचार्यले २०६३ मा काठमाडौंस्थित क्यास्पियन भ्याली कलेजबाट आइएस्सी गरे । नोबेल कलेजबाट मेडिकल माइक्रो बायोलोजीमा बीएस्सी गरेका आचार्यले मेडिकल माइक्रो बायोलोजी विधाको भाइरोलोजीमा एमएस्सी, छात्रावृत्तिमा थाइल्याण्डको खोनक्यान युनिभर्सिटीको फ्याकेल्टी अफ मेडिसिनबाट गरे ।
सन् २०१४ माअध्ययन गरेर नेपाल फर्केपछि आचार्यले नोबेल कलेजमा बायोइन्फरमेटिक्स विषयमा अध्यापन गर्नेदेखि नयाँ बानेश्वरमा रहेको नेशनल रेफरेन्स ल्याबोरेटरीमा मलिकुलर विभागमा विभागीय प्रमुख भएर काम गरे ।
तत्कालीन समयमा निजी क्षेत्रका कुनै पनि रेफरेन्स प्रयोगशालामा पीसीआर परीक्षण नभएको अवस्थामा आचार्य एक्लैले नेशनल रेफरेन्स ल्याबोरेटरीमा पीसीआरपरीक्षणको शुरुआत गरेका थिए ।
सो परीक्षणको शुरुआत हुनुभन्दा अगाडि नेपालमा हेपाटाइटिस बी, हेपाटाइटिस सीका भाइरल लोड, एचपीभी भाइरस र एचएलए बीफोरसेभेन परीक्षणको लागि नमूना भारत पठाउनु पर्ने बाध्यता थियो । र, रिपोर्ट आउन २० देखि २५ दिन लाग्ने अवस्था थियो । उनले नेशनल रेफरेन्स ल्याबोरेटरीमा पीसीआर परीक्षण शुरुआत गरेपछि २ देखि ३ दिनमा आउन थाल्यो । जसका कारण बिरामीलाई डायग्नोसिस र उपचार सेवामा सहजता पुग्यो ।
साथै आचार्यले सिएनालाइटेकमा एप्लिकेशन स्पेशियलिष्टको रुपमासमेत काम गर्न थाले । पश्चिम नेपालका विशेष गरी थारु समुदायमा देखिएको रगतका वंशाणुगत रोग सिकलसेल एनिमिया थालेसेमियाको एचपीएलसी प्रविधिबाट कसरी थाहा पाउने भनेर विभिन्न जिल्लामा डाक्टर, प्याथोलोजिष्ट र स्वास्थ्यकर्मीहरुलाई तालिमसमेत प्रदान गरेको अनुभव आचार्यसँग छ ।
२०७६ साल चैत २२ गते आचार्यलाई स्वास्थ्य मन्त्रालयले प्रयोगशाला विज्ञका रुपमा नियुक्त गर्यो । त्यसपछि उनले भेरी अस्पताल नेपालगञ्जमा रहेर यूएसएआईडीको स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनामा ल्याबोरेटरी स्पेशलिष्टका रुपमा कर्णाली र लुम्बिनी प्रदेशका १६ जिल्ला हेर्ने गरी काम गरे ।
काममा सधैं अब्बल हुने सफल प्रयोगशाला विज्ञ आचार्य अहिले नेपालगञ्ज चार बाहिनी रोडमा रहेको नेपालको ‘बी’ लेबलको रिफरेन्स प्रयोगशाला थोपा प्रयोगशालामा प्रमुख कार्यकारी अधिकृतको रुपमा रही पश्चिम नेपालका सयौं बिरामीहरुको ल्याब परीक्षण गरिरहेका छन् ।
तर यिनै अब्बल स्वास्थ्यकर्मीलाई सम्मान गर्न भने सरकार सधै चुक्छ ।