arrow

जलहरीमात्र हैन ३१ रोपनी जग्गाको अपचलनको पनि भण्डाफोर गरौँ – शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
ajaya-babu-shiwakoti.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पशुपतिनाथको मन्दिरको जलहरीमात्र हैन गोठाटारमा रहेको ३१ रोपनी जग्गाको अपचलनको पनि भण्डाफोर गर्न माग गरेका छन् । 

सामाजिक संजालमा लेख्दै उनले जलहरीको प्रसङ्ग उठिसकेपछि गोठाटारमा रहेको पशुपतिको ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर अपचलन गर्ने संगठित गिरोहको पनि भण्डाफोर गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनले लेखेका छन्, ‘जलहरी मात्र हैन गोठाटारमा रहेको पशुपतिनाथको ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर अपचलन गर्ने संगठित गिरोहको पनि भण्डाफोर गरौं । जलहरीको कुरा संसदसँगै अख्तियारमा पनि प्रवेश गरिसकेको छ। यही बीचमा गोठाटारमा रहेको पशुपतिनाथको ५३५ रोपनी मध्य ५०४ रोपनी देखाई ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर भागवण्डामा खाने प्रपञ्चमा पशुपति विकास कोषका जिम्मेवार पदाधिकारीहरु देखिएका छन् । पशुपतिनाथको जग्गा अपचलन गरि खान खोज्ने नियतमा संस्कृति मन्त्रालयको नेतृत्व तथा कोषका पदाधिकारीविरुद्ध तत्काल छानबिन गरी कारबाहीको लागि दबाब दिउँ । जय नेपाल।’ 

यही विषयलाई लिएर नेकपा एमालेले संसद बैठक नै अवरुद्ध गरेको छ । पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएपछि एमालेले आपत्ति जनाएको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा पशुपतिमा जलहरी लगाइएको थियो । तर सुन भनेर पित्तल लगाएको भनेर उक्त प्रकरणमा ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमासमेत आएको थियो । 

यसको जिम्मा नैतिकताका आधारमा केपी ओलीले लिनुपर्ने भनी संसदमा प्रश्न उठेपछि एमालेले संसद नै अवरुद्ध गरेको हो । 

सांसदहरुले भने यसको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । 

एमालेको लफडा 
आजको संसद बैठक बस्नै सकेन । प्रतिनिधि सभाको २० मिनेटका लागि स्थगित गरिएको बैठक साँझ ६ बजे बस्ने भनिए पनि बस्न सकेन । यसअघि दिउँसो ३ बजे बस्ने भनी निर्धारण गरिएको बैठक पुनःअर्को सूचना टाँस गरी ६ बजेका लागि निर्धारण गरिएको सङ्घीय सचिवालयले जनाएको थियो ।

तर बैठक बस्न सकेन । यसअघि दिउँसो १२ः४५ बजे २० मिनेटका लागि स्थगित गरिएको थियो । सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणवश बैठक बस्ने समय परिवर्तन भएको जनाएको हो ।

आजै बसेको अघिल्लो बैठकमा एमालेका सांसदहरूले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए । 

बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथको जलहरीमा सुनको सट्टा पित्तल लगाइएको र भ्रष्टाचार भएको भनी माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसबारे सरकारको स्पष्ट जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताएका थिए । 

सभामुख घिमिरेले आसनग्रहण गर्न पटकपटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरूले रोष्ट्रम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए । 

करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि उनले बैठक २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि धेरै प्रयास भए पनि संसद शुरु हुन सकेन । 

आजको बैठकमा नीति तथा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । त्यसपछि आजै नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम थियो । 

१५ गते सोमबार संघीय सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ