arrow

प्रधानमन्त्रीको भारत भ्रमण 

विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
np-saud-moreign-ministry-press-meet.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि शुरु हुन लागेको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा महत्त्वपूर्ण छलफल हुने भएको छ । 

परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले द्विपक्षीय हित र चासोका बारेमा प्रधानमन्त्रीस्तरमा छलफल हुने जानकारी दिए । उनले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची तय भए पनि थप केही विषयमा छलफल जारी रहेको बताए । 

    परराष्ट्रमन्त्री साउदले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानीको प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गका बारेमा महत्त्वपूर्ण विचार विमर्श हुने उल्लेख गर्नुभयो । दीर्घकालीन रूपमा बिजुलीको व्यापार गर्न सकियोस् भन्ने बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने र एउटा निष्कर्ष निस्कने परराष्ट्रमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । यस्तै महाकाली नदीमा नेपाल र भारत जोड्ने मोटरेबल पुल तथा केही झोलुङ्गे पुल निर्माणका बारेमा पनि सहमति हुनेछ । 

    नेपाल र भारतका बीचमा रहेको व्यापार घाटालाई कम गर्ने तथा कृषि उपजलाई विना अवरोध भारतीय बजारमा प्रवेश गराउने विषयमा पनि महत्त्वपूर्ण सहमति गर्ने तयारी छ । उच्च राजनीतिक तहमा विश्वासको वातावरण तयार पार्दै सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सवालमा भारत भ्रमण फलदायी हुने विश्वास लिइएको उहाँको भनाइ छ । 

    उद्योगी व्यवसायीका बीचमा रहेका समस्या समाधानका लागि प्रधानमन्त्रीको उपस्थितिमा अन्तरक्रिया एवं छलफल गर्ने कार्यक्रम तय भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

भ्रमण दलमा मन्त्रिगण, नेपाल सरकारका उच्च सरकारी अधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता छ । 

    भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल गर्नेछन् । भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले नेपाली राजदूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् ।

प्रधानमन्त्री दाहालले सोमबार मात्रै प्रतिनिधिसभामा भारत भ्रमणको बारेमा जानकारी गराइसकेका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले भारत भ्रमणका बारेमा छलफल गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ