arrow

पूर्णता पायो राष्ट्रिय योजना आयोगले [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
npc-minbd-shrestha-anita-shah-shungana.jpg

काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आइतबार राष्ट्रिय योजना आयोगकी नवनियुक्त महिला सदस्य डा. अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै आयोगले लामो समयपछि पूर्णता पाएको हो । 

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् । सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । 

आयोगका प्रवक्ता तथा सदस्य डा. रामकुमार फुयालले सदस्य ढुंगानाले सपथ लिएसँगै कार्यभारसमेत सम्हालेको बताए । उनले  राष्ट्रिय योजना आयोगमा गठन आदेशमा उपाध्यक्ष सहित ७ जना पदाधिकारी रहने व्यवस्था रहेको बताए । 

उनले ६ जना सदस्यमा एक जना महिला सदस्य हुनु पर्ने अनिवार्य व्यवस्था रहेको पनि बताए । प्रवक्ता फुयाँलले  ५ जना आयोगको सदस्यमा गत माघ ४ गतेको मन्त्रीपरिषद्ले निर्णय गरेर नियुक्त भएको बताए । 

उनले नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानून, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएको बताए । 

उनले सरकारले ल्याएको बजेटमा मन्त्रालयहरुलाई आयोगले सहयोग गर्ने र भएका योजनाहरुको अनुगमन र मूल्याङ्कनमा कसरी जोड दिने विषयमा आयोग लाग्ने बताए । उनले सरकारको सरकारले गर्ने पुँजीगत खर्च कसरी बढाउने भन्ने विषयमा वृहत छलफल गरेर अगाडि बढ्ने बताए । 

२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए । आयोगका  सदस्यहरु डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, र डा. रमेश पौडेल नियुक्त भइसकेका थिए । 

आयोगले सदस्यहरुलाई विभिन्न जिम्मेवारी समेत दिएको छ । जसमा सदस्यहरु डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारीे डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ । 

यसैगरी डा. बुढाथोकीलाई उर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै वागमती प्रदेश, डा. बिच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा. पौडेललाई शिक्षा, शहरी विकास, युवा तथा खेलकुद साथै वागमती प्रदेशको जिम्मेवारी दिइएको छ । 


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ