पाँच दिन बित्दा पनि भेटिएनन् कर्णालीमा बेपत्ता यात्रु, तीन ठूला दुर्घटनाले सडक सुरक्षामा गम्भीर प्रश्न
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
115
Shares
काठमाडौँ । देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीनवटा ठूला सडक दुर्घटनाले नेपालको सडक सुरक्षा र सरकारी तयारीमाथि पुनः गम्भीर प्रश्न उठाएको छ। विशेषगरी दैलेखको कर्णाली राजमार्गमा भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा बेपत्ता भएका यात्रुहरूको खोजी कार्य पाँच दिन बितिसक्दा पनि सफल हुन सकेको छैन।
असार १८ गते बिहान करिब ११:३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेताडा क्षेत्रमा सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने पारिवारिक स्रोतका अनुसार अझै पाँच जना यात्रु बेपत्ता छन्।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुका अनुसार कर्णाली नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजी कार्य निकै चुनौतीपूर्ण बनेको छ। नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने "नदीको बहाव निकै तीव्र छ। गाडी वा यात्रु अड्किन सक्ने कुनै निश्चित स्थान फेला नपरेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको छ।"
बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको संयुक्त टोली परिचालित छ। सशस्त्र प्रहरी बलका ६ जना तालिमप्राप्त गोताखोर (डाइभर) समेत नदीमा निरन्तर खटिएका छन्।
कर्णाली दुर्घटनाको केही दिनभित्रै अन्य जिल्लामा पनि ठूला दुर्घटना भएका छन्। असार २१ गते आइतबार डोल्पा जिल्लामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार घाइतेहरूलाई थप उपचारका लागि जुम्ला अस्पताल पठाइएको छ। यस्तै, बैतडीमा पनि यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका थिए।
लगातार भइरहेका यी सडक दुर्घटनालाई लिएर संसद् (प्रतिनिधिसभा) मा समेत सांसदहरूले सरकारको तीव्र आलोचना गर्दै आवाज उठाइरहेका छन्। तर, सरकारले तत्काल गर्नुपर्ने पूर्वाधार सुधार र उद्धार संयन्त्रको आधुनिकिकरणमा बेवास्ता गरेको भन्दै नागरिक स्तरमा आक्रोश बढेको छ।
बढ्दो दुर्घटना र यसको न्यूनीकरणबारे काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी नरेशराज सुवेदीले वर्षायाममा सडक चिप्लिने, पहिरो जाने, सडक भासिने तथा भिजिबिलिटी (दृश्यता) कम हुने भएकाले जोखिम उच्च हुने बताए। उनले सवारी चालकहरूलाई यात्रा सुरु गर्नुअघि गाडीको ब्रेक, टायर, स्टेयरिङ र लाइटलगायत सम्पूर्ण यान्त्रिक अवस्था अनिवार्य परीक्षण गर्न आग्रह गरे।
प्रवक्ता सुवेदीले सचेत गराउँदै भने"बर्खायाममा सडक दुर्घटनाको जोखिम धेरै हुन्छ। कतै सडक चिप्लिएको हुन्छ, कतै भासिएको हुन्छ त कतै पहिरो गएको हुन्छ। त्यसैले मौसम र सडकको अवस्था बुझेर, सवारी साधनको प्राविधिक अवस्था राम्रो छ भन्ने सुनिश्चित गरेर मात्र गाडी चलाउनुपर्छ।"
थोरै मात्र आवश्यक सावधानी अपनाउन सके वर्षायाममा हुने अधिकांश सडक दुर्घटनालाई न्यूनीकरण गरी मानवीय क्षति रोक्न सकिने ट्राफिक प्रहरीको भनाइ छ।