arrow

वडाध्यक्ष दिनभर मकैबारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
monkey-corn.jpg

पर्वत ।  पर्वतको कुश्मा नगरपालिका-९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिदैनन् । उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएको होइन । हरेक महिनाको दुई दिन लामिछाने खेतबारी रुँगेर बस्छन् । यसको कारण हो बाँदर धपाउन । 

लामिछाने मात्र हैन कुश्मा नगपालिका-९ का १५ परिवारको एउटै फाँट रहेको छ । ती फाँटमा लगाइएका मकै जोगाउन वडाध्यक्षलगायत १५ जनाले आलोपालो गरेर मकै जोगाउन लागेका छन् । वडाको कामसँगै खेतबारीमा लगाएको मकै, बोडी, सिमी पनि जोगाउनुपरेको अध्यक्ष लामिछानेले बताए। 

खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् तर किसानलाई भने ती घोगा जोगाएर घर भित्र्याउने पाइने हो कि होइन भन्ने चिन्ता छ । आफूले भन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतबारीमै छाप्रो हालिएको छ, जहाँ प्रत्येक दिन गाउँका कोही न कोही हेरालो बस्नुपर्ने बाध्यता परेपछि आफूसमेत महिनामा दुई दिन खेतबारी रुगेर बस्ने गरेको उनी बताउँछन् । 

त्यस्तै पत्रकार राजबाबु पिसीले आफू पनि महिनाको दुई दिन बाँदर धपाउने पालोमा खेतबारी कुरेर बस्नुपर्ने बताए। महिनाको दुई दिन पत्रकारिताको काम छाडेर खेतबारीमा बाँदर धपाउनुपर्ने बाध्यता रहेको उनले बताए। 

खेतबारीमा लगाएका बाली जोगाउन कटुवा चौपारीवासीलाई हम्मेहम्मे परेको छ । यहाँको करिब साढे दुई सय रोपनीमा मकै लगाइएको छ । मकैले घोगा हाल्दै छन्, बाँदर भने दैनिकजसो खेतबारीको आसपासमा आउन थालेका छन् । बाँदर आतङ्क बढेपछि कटुवा चौपारीवासी पालो नै छुट्याएर बाँदर धपाउन लागिपरेका छन् । कुश्मा नगरपालिका-९ कटुवाचौपारीका वडाध्यक्ष लामिछाने गाउँले बाँदरबाट बाली जोगाउन पालो लगाएर खेतबारीमै बस्न थालेको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ