arrow

विश्वकप छनोट खेल्नुअघिका दुवै अभ्यासमा नेपाल पराजित, अब सिधै जिम्बाब्वे 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २७ शनिबार
nepal-cricket-2080-02-16.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतमा हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि विश्वकप छनोट खेल्नुअघिका अभ्यास खेलमा नेपाल पराजित भएको छ । दक्षिण अफ्रिकामा शनिबार भएको दोस्रो अभ्यास खेलमा नेपाललाई नेदरल्यान्ड्सले ५ विकेटले हराएको हो ।

नेपालले दिएको १ सय ५७ रनको सामान्य विजयी लक्ष्य नेदरल्यान्ड्सले ५ विकेट गुमाएर ३६.१ ओभरमा पूरा गर्यो । नेदरल्यान्ड्सलाई जिताउन विस्ली बार्सीले ८८ बलमा ६३ तथा कप्तान स्कट एडवार्डले २२ रन बनाए ।

नेपालका लागि गुलसन झा तथा ललितनारायण राजवंशीले समान २–२ तथा प्रतिश जिसीले १ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६.१ ओभरमा अलआउट हुँदै १ सय ५६ रन बनायो । 

कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए । गुलसन झाले २४ रन बनाउँदा प्रतिश जीसीले १९ तथा सोमपाल कामी र आरिफ शेखले समान १८ रन बनाए । 

नेदरल्यान्ड्सका लागि एल भी भान बिकले ५ विकेट लिए । 

यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको थियो ।

अब नेपाली टोली दक्षिण अफ्रीकाबाटै जिम्बाब्वे जाँदैछ । 

यस्तो छ विश्वकप छनोटको खेल तालिका
जिम्बाब्वेमा आयोजना हुने  विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको शुरुआत गर्नेछ । 

असार ५ मा अमेरिकासँग, वेस्ट इन्डिजसँग असार ७ मा र नेदरल्यान्ड्ससँग असार ९ गते खेल्नेछ।

समूह बी मा  श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र यूएई रहेका छन् । 

आ–आफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । 

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने विश्वकपमा छनोट हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ