- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएकोे दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन । खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले जनाएको छ ।
जिल्लामा रहेका ६४ हजार एक सय ५३ घरपरिवारमध्ये आठ सय ६५ घरमा अझै शौचालय नभएको पाइएको तथ्याङ्क कार्यालय बागलुङका कार्यालय प्रमुख चन्द्रकान्त सुवेदीले जानकारी दिए ।
उनले जिल्लाकोे तथ्याङ्क सार्वजनिक अझै पनि आठ सय ६५ घरपरिवारमा शौचालय नभएको, कुवा तथा खुला इनारको पानी प्रयोग गर्ने पाँच सय ३१ परिवार र नदी तथा खोलाको पानी प्रयोग गर्ने तीन सय १६ परिवार रहेको जानकारी दिए ।
उनका अनुसार जिल्लामा एक सय ६७ सार्वजनिक शौचालय छन् भने सार्वजनिक ढलमा मिसिने शौचालय एक हजार आठ सय ६५, सेफ्टी ट्याङ्की भएको ४७ हजार दुई सय ६४ परिवार र साधारण खाल्टे शौचालय भएका १३ हजार नौ सय ४२ घरपरिवार छन् ।
बाढीपहिरोको जोखिम भएका स्थानमा कतिपयले खाल्टे शौचालय प्रयोग गर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख तुल्सी बस्नेतले बताए । छिट्टै भत्किने, पहिरोले लैजाने, बाढीले पुर्नेलगायत समस्याका कारण कतिपय घरमा शौचालय नभएका उनको भनाइ थियो ।
“दश वर्षअघि खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो । उक्त समयमा सबैको घरमा अस्थायी सम्मको शौचालय थिए ।
दश वर्षको अवधिमा बढी मात्रामा परिवार छुट्टिदा, बाढीपहिरोका कारण शौचालय नभएका घरको सङ्ख्या बढे्को हो”, प्रमुख बस्नेतले भने । अहिलेको सरसफाइको जिम्मेवारी स्थानीय तहलाई दिइएको भन्दै उनले जिल्लामा खानेपानी आयोजना सञ्चालन नभएका, अझै खोला र खुल्ला कुवाको पानी खाइरहेका परिवार धेरै रहेका बताए ।
घरमा शौचालय नभए पनि सार्वजनिक तथा सयुक्त रुपमा रहेका शौचालय प्रयोग गर्ने परिवार रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
तथ्याङ्क कार्यालयका प्रमुख सुवेदीका अनुसार जिल्लामा रहेको ६४ हजार एक सय ५३ घरपरिवारमध्ये तीन प्रतिशत परिवारमा शौचालय नभएको तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ को नतिजाले देखाएको हो ।
जिल्लाका तत्कालीन सबै गाविसमा घर-घरमा चर्पी निर्माण सम्पन्न भइसकेको भन्दै नेपालको ८औँ खुला दिसामुक्त जिल्लाको रुपमा विसं २०७० माघ १६ गते घोषणा गरिएको थियो ।
खुला दिसामुक्त जिल्ला घोषणा भएको १० वर्षपछि आठ सय ६५ घरमा शौचालय नभएको पाइनु दुःखद् रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । सार्वजनिक तथ्याङ्कका आधारमा जिल्लामा सरसफाइको अवस्था नाजुक रहेको देखाएको उनको भनाइ छ ।
शौचालयको अभावले खुल्ला स्थानमा दिसा, पिसाब गर्दा आउ, हैंजा, झाडापखलालगायत रोगको सङ्क्रमण फैलिने भएकाले सबैले शौचालय बनाउनुपर्नेमा बरालले जोड दिए ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बागलुङको जनसङ्ख्या एक लाख १६ हजार एक सय ९४ पुरुष, एक लाख ३३ हजार १७ महिला गरी दुई लाख ४९ हजार दुई सय ११ रहेको छ । विसं २०६८ को जनगणना अनुसार दुई लाख ६८ हजार छ सय १३ जनसङ्ख्या थियो । अहिले यहाँको जनसङ्ख्या शून्य दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ । -रासस