arrow

बाढीपहिरो

पाँचथरमा २४ घरपरिवार विस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
badhi-pidit-panchthar-2080-3-03.jpg

पाँचथर ।  पाँचथरमा बाढीपहिरोका कारण हालसम्म २४ घरपरिवार विस्थापित भएका छन् । बाढीपहिरोका कारण जिल्लाको फालेलुङ, याङवरक, हिलिहाङ गाउँपालिका तथा फिदिम नगरपालिकाका सो सङ्ख्यामा स्थानीयवासी विस्थापित भएका हुन् । उनीहरू आफन्त तथा छरछिमेकीको शरणमा बसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चौबीस परिवार विस्थापित भए पनि सात वटा घर पूर्ण र एउटा घरमा आंशिक क्षति पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार हालसम्म याङवरक-२ का छनप्रसाद राई, रामचन्द्र बेघा र कृष्ण बेघाको घर, फिदिम-४ का रेशम कटवालको घर, हिलिहाङ-७ का आशिष माझीको होटल, फिदिम-४ का सरध्वज आङ्देम्बेको घर र बङ्गुर फार्म, फालेलुङ-३ का मनप्रसाद राईको पूर्णरूपमा क्षति भएको छ । फालेलुङ-२ का टङ्क योङ्या र वीरबहादुर योङ्याको घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । 

बाढीले घर बगाउँदा याङवरक-२ का छनप्रसाद राई, रामचन्द्र बेघा र कृष्ण बेघाको परिवार विस्थापित भएका छन् । फालेलुङ-३ का मनप्रसाद राई, फालेलुङ-२ का वीरबहादुर योङ्या, फिदिम नगरपालिका-४ हेंवाखोलाका रेशम कटवाल, सोही वडाको माझीटारका सरध्वज आङ्देम्बे, हिलिहाङ गाउँपालिका-७ का मनहाङ कन्दङ्वा, चन्द्र जबेगू, कमला घिसिङ तामाङ र भुवानी योक्पाङ्देनको परिवार विस्थापित भएको छ ।

घरमा पहिरोले क्षति पुर्‍याएपछि फालेलुङ गाउँपालिका-४ का मनबहादुर गुरुङ, पदम गुरुङ, गणेश गुरुङ र टेकबहादुर गुरुङको परिवार पनि विस्थापित भएको छ । घरमा आंशिक क्षति पुगेका फालेलुङ-३ का वीरेन्द्र लिवाङ, राजकुमार लिवाङ, अमृतकुमार लिवाङ र प्रकाश सेलिङको परिवार पनि विस्थापित भएका छन् । उच्च जोखिममा रहेका फालेलुङ-४ का प्रकाश गुरुङ, सिद्धिबहादुर गुरुङ, विष्णु गुरुङ र बेमबहादुर गुरुङको परिवार पनि विस्थापित भएको प्रहरीले जनाएको छ । 

बाढी र पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको पाँचथर प्रहरीले जनाएको छ । पाँचथरमा पहिरोमा परी फालेलुङ-४ की आठ वर्षीया बालिका जुना सावदेनको उपचारका क्रममा मृत्यु भएको छ भने उनकी मावलकी हजुरआमा ६७ वर्षीया रनमाया राई घाइते छन् । बाढीमा अहिलेसम्म यहाँका पाँच जना हराइरहेका छन् । बेपत्तामा तल्लो हेंवा जलविद्युत् आयोजनाका सुरक्षा गार्डद्वय हिलिहाङ-७ का ४५ वर्षीय तिलकुमार गुरुङ र फिदिम-११ का हेमराज भनिने २८ वर्षीय सञ्जोग लिम्बू, फिदिम-५ घर भई हेंवा खोलामा गिट्टी कुट्ने ५५ वर्षीय राजकुमार राई, फिदिम नगरपालिका-४ घर भई हिलिहाङ-७ मा बोत्तल हाउस होटल सञ्चालन गर्ने २८ वर्षीय आशिष माझी र उनकी २५ वर्षीया श्रीमती एलिसा माझी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ