arrow

मेलम्चीमा ‘बेलिब्रिज’ जडान गर्न शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
Melamchi-flood.jpg

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको तीन पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण कार्र्य शुरु भएको छ । नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ जडान कार्य शुरु गरिएको हो  । 

बुधबारदेखि सेटिङ आउटको काम शुरु भएको नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईंले जानकारी दिए । 

निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धताअनुसार केही समय ढिलो गरेर बेलिब्रिज जडान शुरु गरिएको यस कार्यमा समन्वय गरिरहेका नेपाली कांगे्रसका मेलम्ची नगर उपसभापति रामशरण गिरीले जानकारी दिए । 

वर्षायाममा यहाँका नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले अबको करिब दुई साता जतिमा जडान सम्पन्न गरिने सेनाले जनाएको छ  । 

मेलम्चीपारिको वडा नं ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निर्माण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिने छन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’का रूपमा समेत यस सडक प्रयोग हुँदै आएको छ ।
 
 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङको पहल र निरन्तर प्रयासपछि मेलम्ची खोलामा बेलिब्रिज निर्माण गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । 

विसं २०७८ असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुने गरेको छ । यस स्थानमा पक्की पुलका लागि पनि प्रदेश सरकारबाट केही बजेट विनियोजन भएको मेलम्ची नगर प्रमुख आइतमान तामाङले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ