arrow

ढोरपाटन शिकार आरक्षबाट हतियार बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
dhorpatan

बागलुङ । ढोरपाटन शिकार आरक्षबाट अवैध हतियार बरामद गरिएको छ । लुकिछिपी शिकार खेल्नेले लुकाएका हतियार, बारुद, सिसालगायत सामग्री बरामद गरिएको हो । 

देशको एकमात्र वैधानिक शिकार गन्तव्य ढोरपाटनमा बेलाबेला वन्यजन्तुको अवैध चोरी-शिकार हुँदै आएको छ । विभिन्न समयमा बरामद गरिएका हतियार बागलुङस्थित जिल्ला सुरक्षा समितिलाई बुझाइएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्दप्रसाद कँडेलले जानकारी दिए । 

एक थान एसएलआर राइफल र आठ थान भरुवा बन्दुक बरामद गरिएको हो । ती सबै हतियार रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा पर्ने आरक्ष क्षेत्रबाट बरामद गरिएका हुन् । 

पछिल्ला तीन वर्षमा आरक्षले दुई घोरल र एक नाउरको छालासहित पक्राउ परेका अवैध सिकारीलाई पक्राउ गरी मुद्दा चलाएको छ । जडीबुटी र काठको चोरी-सिकारमा संलग्न १६ जनालाई कारबाही गरिएको छ ।

जनशक्ति अभावले तीन जिल्लामा फैलिएको आरक्षको सबै क्षेत्रमा सुरक्षा निगरानी गर्न नसकिएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । 

आरक्षमा बर्सेनि दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार कम्पनीबीच प्रतिस्पर्धा गराई शिकारको अनुमति दिने गर्छ । आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत शिकार कम्पनीले शिकार खेलाउँदै आएका छन् । 

बर्सेनि असोज-मङ्सिर र फागुन-वैशाख गरी दुई याममा शिकार खुला हुन्छ । वर्षमा बीस नाउर र एघार झारलको शिकार गरिन्छ । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात शिकार ‘ब्लक’ छन् । 

सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्छन् । एक हजार तीन सय २५ वर्ग किमिमा फैलिएको उक्त आरक्ष बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भूभागमा अवस्थित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ