arrow

एसीसी इमर्जिङ कपमा नेपाल पाकिस्तानसँग चार विकेटले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
cricket-nepal-pakistan-2023.jpg

काठमाडौँ । नेपालले श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेको छ । नेपाल पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको हो । 

१८० रनको चुुनौती पाकिस्तानले ३२.२ ओभरमै ६ विकेटको क्षतिमा पूरा गर्यो । तैयब तहिरले ५१ तथा कम्रान गुलामले ३१ रन बनाएको इनिङ्समा नेपालका लागि ललित राजबंशीले ३, पवन सर्राफले २ तथा कुशल मल्लले १ विकेट लिए । 

यसअघि कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो । 

सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रन बनाए । नवौँ विकेटका लागि सोमपालले प्रतिश जीसीसँग मिलेर ७० बलमा ५८ रन बनाए । यो साझेदारीले नेपाललाई लज्जास्पद योगफल बन्नबाट जोगाए । 

प्रतिशले २४ बलमा २६ रन बनाए । १५.४ ओभरमा ७२ रन बनाउँदा नेपालले ८ विकेट गुमाएको थियो । 

अर्जुन साउद तथा कुशल मल्लले समान १७,  गुलसन झाले १३ तथा आसिफ शेखले १२ रन बनाए बाहेक अन्य ब्याटरले दोहोरो स्कोर जोड्न सकेनन् । 

पाकिस्तान ए का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । 

गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो । 

नेपालले दोस्रो खेलमा सोमबार भारत ए सँग खेल्नेछ । भारतसँगको खेल डे नाइट खेल हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार यूएई ए सँग खेल्नेछ ।

यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । अर्को समूहमा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान रहेका छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । 

सेमिफाइनलका दुई विजेता उपाधिका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ