arrow

स्थानीयको २७ करोड बढी खाएर सुनचाँदी व्यवसायी बेपत्ता भएपछि पीडितले दिए धर्ना 

logo
युवराज रेग्मी,
प्रकाशित २०८० असार ३१ आइतबार
gauradaha-sunchadi-byabasayi-pidit-2080-03-31.jpg

झापा । झापाको गौरादह नगरपालिका कार्यालय परिसरमा स्थानीयको २७ करोड बढी रुपैयाँ ठगेर बेपत्ता भएका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा पीडित समूहले धर्ना दिएको छ ।

गौरादह नगरपालिका १ निवासी विश्वकर्माले स्थानीयको २७ करोड भन्दा बढी रकम हिनामिना गरेर असार १५ गतेदेखि सम्पर्कविहीन भएपछि स्थानीयहरु आक्रोशित भएका छ्न् ।

वडाध्यक्ष नगेन्द्र भण्डारीलाई सामाजिक संजालमार्फत एक पत्र लेखी ब्यवसाय र परिवार छोडी हिँडेको भन्ने जानकारी पठाएर उनी एकाएक वेपत्ता भएका थिए  । 
 
गौरादह नगरपालिका वडा नं २ डिपुचोक नजिक सोम सुनचाँदी पसल संचालक गर्दै आएका विश्वकर्मा फरार भएपछि असार १७ गतेदेखि वडा नं १ को कार्यालयमा रकम दाबी गर्नेक्रम अझै जारी छ । 

आइतबारसम्ममा वडामा ५०८ जनाले रकम दाबी गरिसकेका छ्न् । 

वडा कार्यालयमा विश्वकर्माविरुद्ध २७ करोड भन्दा बढी रकम दाबी परेको वडा कार्यालयका कर्मचारी रोहित चौलागाईंले  जानकारी दिएका छ्न् । 

उनी एकाएक फरार भएपश्चात् वडा कार्यालयमा संकलन भएको ४६६ जनाको रकम दाबीको उजुरी सहित जिल्ला प्रशासन कार्यालयमा फरारको खोजी कार्य गरिदिन वडा कार्यालयले लिखित उजुरीसमेत दिइसकेको वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए । 

पिडितको पक्षबाट ईलाका प्रहरी कार्यालय गौरादह र दमकमा उजुरीसमेत परेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
पीडितहरुको उजुरी परेपछि केही दिनअघि दुवै इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले सोमराजको पसलमा छापामारी कारोबार टिपोट गरेको सोमराजको  खातापाता नियन्त्रणमा लिइसकेको छ ।     

महँगो ब्याज दिने प्रलोभन देखाइ सुनचाँदी ब्यवसायी विश्वकर्माले ठूलो रकम हिनामिना गरेपश्चात् नगरपालिकाले केही दिनअघि  एक छानबिन समिति समेत गठन गरिसकेको छ  ।

उता गत बुधबार पीडितको तर्फबाट गठन गरिएको ‘सोमराज पीडित समूह’ ले आन्दोलनका चरणबद्ध कार्यक्रमहरु गर्दै आएको छ ।
 
आन्दोलनका कार्यक्रम अन्तर्गत गत बुधबार गौरादह ४ मजुवामा रहेको सोमराजले आफन्तका नाममा नामसारी गरिदिएको जग्गामा झन्डा गाडी जग्गा कब्जा गरेको सोमराज पीडित समूहका संयोजक रमेशकुमार थापाले जानकारी दिए ।

आन्दोलनकै कार्यक्रम अन्तर्गत बिहीबार गौरादहको डिपुचोकमा भेला भएर नाराजुलुस लगाउँदै गौरादह बजारमा रहेको उनको घर घेराउ गर्दै घरमा सोमराज पीडित समूह लेखिएको २ वडा रातो झन्डा राख्दै घरकब्जा गरेको जनाएका छ्न् ।

सोही समूहले आइतबार गौरादह ४ स्थित मिलनचोकमा भेला भएर नाराजुलुस गर्दै गौरादह १ गेउरियास्थित सोमराजको जग्गामा रातो झन्डा गाडेका छ्न् ।

साथै आइतबारै गौरादह नगरपालिका कार्यालय परिसरमा पीडकलाई खोज्न भन्दै नारा जुलुससहित धर्ना दिएका थिए । 

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै कुमार पौडेलले स्थानीय निकायले बेपत्ता व्यवसायीलाई हाजिर नगराएसम्म आफूहरुको आन्दोलन नरोकिने बताए । 

गौरादह नगरपालिकाको तर्फबाट सम्बोधन गर्दै नगरप्रमुख छत्रपति सुवेदीले आफू यस घटनाप्रति एकदमै चिन्तित रहेको बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ