arrow

सशस्त्रमा उत्साहः १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
raju-aryal-apf-igp-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सशस्त्र प्रहरी बलमा १७ वर्षदेखि बढुवा हुन नपाएका प्रहरी अधिकृतहरुको बढुवा प्रकृया शुरु भएको छ । सशस्त्र प्रहरीले आइतबार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म बढुवाको लागि एकै पटक  सूचना प्रकाशित गरेपछि प्रहरी निरीक्षकमा १७ वर्षदेखि रोकिएको बढुवा प्रकृया शुरु भएको हो ।  
    
जस अन्तर्गत सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, वरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि आइतबार एकै पटक सूचना प्रकाशित गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक हवल्दार पदमा समेत बढुवाको लागि सूचना प्रकाशित गरिएको छ । 

यसैगरी आइतबार नै लेखा उप–समूहतर्फ ५ जना र कानून उप–उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको छ । 

आइतबार नै १ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ । यो प्रक्रियासँगै २०६४ सालमा भर्ना भएको सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछ । 

यसैगरी २०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायव उपरीक्षकमा रहेकोमा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछ ।     

खाली पदमा बढुवा गर्दै जाने संगठनको नीति तथा प्रधानमन्त्री र गृहमन्त्री, गृहमन्त्रालयका कर्मचारी, अर्थमन्त्री र सो मन्त्रालयका कर्मचारीसमेत यसमा अत्यन्त  सकारात्मक भएका कारण पनि एकै पटक ठूलो संख्यामा बढुवाका लागि प्रक्रिया शुरु भएको हो । 

अहिले बढुवा नभएको भए यी दर्जाहरुमा अझै ७–८ वर्ष बढुवा नहुने अवस्था सृजना हुने भएको थियो । तर सूचना प्रकाशितसँगै लामो समयसम्म बढुवा नहुने समस्या हट्ने भएको छ ।  

विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया पनि शुरु भएको छ भने सशस्त्र प्रहरी बलमा केही वर्षयताको सबैभन्दा ठूलो संख्यामा एकै पटक बढुवासमेत हुन लागेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व सम्हालेदेखि नै खाली पद नराख्ने नीति लिएकै कारण पछिल्लो एक वर्षमा विभिन्न दर्जामा गरी करिब ३ हजार कर्मचारी बढुवा भएका छन् । 

यस्तै ३१ सय भन्दा बढीको पदस्थापन, २० जनाको विशेष बढुवा, करिब १० हजारको सरुवा, ४ सय ७८ जनाको समायोजन सरुवा र विभिन्न दर्जामा १ सय ११ जनाको नयाँ भर्ना भएको छ । लामो समयदेखि बढुवा जाम रहेको अवस्थामा प्रकाशित सूचनाबाट कर्मचारीहरुमा रहेको निराशासमेत हटेर जाने विश्वास सशस्त्र प्रहरीले लिएको छ । 

यसपछि रिक्त रहेको एसपी, एसएसपी र डीआइजीको बढुवा प्रकृया पनि शुरु हुने सशस्त्र प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ