- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सहकारी बचतकर्ता पीडितहरुको आवाज बनेका पत्रकार कुशलव केसीले आफ्नो जन्मदिन पनि अनसनमा बसेरै मनाएका छन् । गत ५० दिनदेखि काठमाडौको माइतीघर मण्डलामा अनसन बसिरहेका केसीले हिजो आफ्नो जन्मदिन पनि अनसनमै मनाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “हामी अनसन र आन्दोलनका लागि माइतीघरमा बसेको आज ५० दिन भयो, तर सरकारले कुनै सुनुवाइ गरेको छैन, यही माइतीघर मण्डलामा मेरो जन्मदिन पनि यो धर्नाबाटै सकियो ।”
उनले सहकारी बचतकर्ताहरुको पीडाबाट पीडितलाई मुक्त गर्न नसक्दा सम्म आफूले जन्मदिन मनाउन नसक्ने उल्लेख गरेका छन् । उनीहरुको पिडाको अगाडी आफू खुशी हुन नसक्ने उनको भनाइ छ ।
सहकारी पीडित महासंघका प्रमुख संरक्षकसमेत रहेका केसीसहित दर्जनौँ पीडितहरु गत जेठ २० गतेदेखि माइतीघर मण्डलामा चरणवद्ध अन्दोलन र अनसनमा छन् ।
सहकारी दर्ता गरी विदेशमा पैसा पठाउने, तर बचतकर्तालाई नदिने सहकारी सञ्चालकहरुलाई कारबाही हुनुपर्ने, सहकारीमा बचत गरेको रकमको सुरक्षा हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता पाउनु पर्ने लगायतका माग आन्दोलनकारीहरुको छ । उनीहरुको मागका बारेमा सरकारी निकायसँग पटक पटक वार्ता भएप नि सहमति भने हुन सकेको छैन ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाटै सहकारीका समस्या समाधान गर्नका लागि गृहकार्य भइरहेको बताए । उनले सङ्कटग्रस्त १२ मध्ये दुईवटा सहकारीको हिसाब राफसाफ गरेर बचतकर्ताको रकम फिर्ता गरिएको बताए ।
सहकारी पीडित बचतकर्ता महासङ्घका संयोजक हरिशचन्द्र श्रेष्ठले देशभरिका ३२ हजार सहकारीमध्ये १४ हजार सहकारीबाट ठगिएका ७३ लाख नागरिकका पक्षमा आन्दोलन थालेको बताए ।
उनका अनुसार देशैभर ७३ लाख नागरिकको ६५ अर्ब रुपैयाँभन्दा बढी रकम सहकारी सञ्चालकले ठगेको तथ्याङ्क छ । त्यसको ब्याजसमेत हिसाब गर्दा अझ धेरै हुने उनले जानकारी दिए ।
सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा सहकारीका विरुद्धमा १२ हजार ९६२ उजुरी परेका थिए । सहकारीहरूले सात अर्ब ६० करोड ठगी भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो । १० वर्षमा पनि समस्या समाधान नभएपछि पीडित नागरिक आन्दोलनमा होमिएका छन् ।
आफ्नो गुम्न लागेको रकम फिर्ता गराउन देशभरका झन्डै १४ हजार सहकारीका बचतकर्ता आन्दोलनमा सहभागी भएको प्रमुख संरक्षक केसीले जानकारी दिए ।
सहकारी पीडितले माइतीघरमै हजारौँको उपस्थितिमा विरोध प्रदर्शन, सिंहदरबार घेराउदेखि नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला लगाउने लगायतका विरोधका कार्यक्रम पनि गरेका थिए ।
उनीहरुले अरु पनि थप कडा आन्दोलनको तयारी भइरहेको जानकारी दिएका छन् ।