arrow

एघार महिनामा ४३ अर्ब ४५ करोडका स्मार्टफोन आयात

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
mobile-phone.jpg

काठमाडौँ। नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन्।

विभागका अनुसार जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ हजार १९९ थान स्मार्टफोन नेपाल भित्रिएका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब आठ करोड ७८ लाख रुपैयाँ बराबरका १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएका थिए।

तथ्यांकअनुसार चालु आर्थिक वर्षमा स्मार्टफोन आयातको मूल्य गत वर्षको तुलनामा करिब ३५ प्रतिशतले वृद्धि भएको छ। जेठ महिनामा मात्रै चार अर्ब छ करोड ३४ लाख रुपैयाँ बराबरका एक लाख ७७ हजार ३३० थान स्मार्टफोन आयात भएका छन्।

नेपालमा स्मार्टफोन आयातको प्रमुख स्रोत चीन रहेको छ। विभागका अनुसार चीनबाट मात्रै ३२ अर्ब ८४ करोड ५० हजार रुपैयाँ बराबरका १७ लाख १० हजार ९१० थान स्मार्टफोन आयात भएका छन्। कुल आयातमध्ये सबैभन्दा ठूलो हिस्सा चिनियाँ उत्पादन तथा ब्रान्डका स्मार्टफोनले ओगटेका छन्।

स्मार्टफोन आयातसँगै सरकारको राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको ११ महिनामा स्मार्टफोन आयातबाट आठ अर्ब १० करोड ५२ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व पाँच अर्ब ९८ करोड २१ लाख दुई हजार रुपैयाँ रहेको थियो।

व्यवसायीहरूका अनुसार स्मार्टफोनको बढ्दो प्रयोग, नयाँ प्रविधिप्रतिको आकर्षण तथा पुराना उपकरण प्रतिस्थापन गर्ने प्रवृत्तिका कारण आयात बढेको हो।

बजारमा नयाँ मोडलका स्मार्टफोनको माग उच्च रहेकाले आगामी महिनाहरूमा पनि आयातको दर उच्च रहने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ