arrow

कांग्रेस बैठकमा महामन्त्रीहरुको जवाफ [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बसिरहेको छ । गत मंगलबारदेखि जारी बैठकमा आज महामन्त्रीहरुले जवाफ दिँदैछन् । 

बैठक आज पनि नसकिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । गत साता मंगलबारदेखि शनिबार बाहेक हरेक दिन बस्दै आएको बैठक थप लम्बिएको हो । 

साउन २ देखि चलिरहेको बैठकमा अहिलेसम्म केन्द्रीय सदस्य एवं पदाधिकारीहरुले बोलिसकेका छन् । आजको बैठक विशेष हुनेछ । 

आजको बैठकमा अहिलेसम्म उठाइएका विषय र अबको रणनीतिका बारेमा महामन्त्रीद्धयले जवाफ दिनेछन् । 

त्यसो त अहिलेसम्म धेरैजसो केन्द्रीय सदस्य एवं पदाधिकारीहरुले सभापति शेरबहादुर देउवालाई देवत्वकरण गर्ने क्रममा महामन्त्रीहरुलाई गालीमात्र गरे । 

पहिलो पटक प्रत्यक्ष प्रशारण भएको कांग्रेस बैठकलाई संसारभरबाट नियालिरहेका छन् । पार्टीको रणनीति बनाउने बैठक भए पनि प्रत्यक्ष प्रशारण हुँदा पनि आफ्नो सीमा र मर्यादा नाघेरसमेत केही केन्द्रीय सदस्यहरुले त गालीमै जोड दिएका थिए । 

एक केन्द्रीय सदस्य भन्छन्, बैठकमा साथीहरुले अब कसरी अगाडि बढ्ने भन्ने ठूलो चुनौती रहँदा पनि उहाँहरु महामन्त्रीहरुलाई गाली गरे ठूलो भइन्छ भन्ने मानसिकता पाल्नुभएको पाइयो । यो उहाँहरुको कुण्ठा हो । गाली राजनीतिले अगाडि बढिँदैन ।’

उनले कांग्रेसको स्थायित्व रहिरहन थुप्रै चुनौतीको सामना गर्नुपर्ने भएकाले महामन्त्रीद्धयले व्यक्तिस्वार्थ र आफ्नो आलोचनाको भन्दा पनि कांग्रेसलाई सशक्त र जनमुखी पार्टी बनाउन गहन मार्ग खोज्ने बताए । 

उनका अनुसार महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जवाफ दिने कुरा धेरै छन् तर त्यो भन्दा पनि भड्किएका र लोकतन्त्र बिर्सेका केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्ने गरी योजना ल्याउने छन् । 

अर्का एक केन्द्रीय सदस्य भन्छन्, ‘मनमा कुण्ठा धेरैले पालेको पाइयो । त्यसैले त हामीले लामो समयदेखि केन्द्रीय समिति बैठक डाकौँ भनेका थियौँ । तर सभापतिज्यूले नबोलाउँदा धेरै कुण्ठा रहे । यसलाई स्वभाविक नै मान्नुपर्छ । तर व्यक्तिवादी चरित्र हावी हुनु त दुर्भाग्य नै हो नि ।’

कांग्रेस गठबन्धनका कारण पहिलो पार्टी भए पनि अबका चुनौती भने धेरै छन् । नयाँ पार्टीहरुको आशामा जनता रहेको भान हुँदै जाँदा कांग्रेसमात्र हैन ठूला अन्य दलहरुको अवस्था पनि त्यत्तिकै छ । 

मुलुककै सबैभन्दा ठूलो र सबैभन्दा पुरानो पार्टीले आफ्नो शाख जोगाउन एकअर्कालाई गाली गरेरमात्र हुँदैन जनताको घरघरमा गएर वीपीको समाजवादको विचार र व्यवहार अवलम्बन गर्नैपर्नेछ ।

सौखिन भएर नेताहरु शहरमा बसेर अब पक्कै पनि सजिलो छैन । कांग्रेसले आफ्नो अस्तिव कायम राख्ने हो भने नेताहरु बाह्रै महिना पार्टीको काममा खटिनुको विकल्प पनि छैन । 

आजको बैठकमा उपसभापतिद्धय पूर्वबहादुर खड्का र धनराज गुरुङले पनि बोल्नेछन् । उनीहरु दुवै सरकारमा रहेकाले कांग्रेसको सरकारमा सहभागीताका बारेमा जवाफ दिनेछन् । 

चिनियाँ प्रतिनिधिमण्डले दिउँसो २ बजे कांग्रेस सभापति देउवासहितका पदाधिकारीसँग छलफल गर्ने भएकाले बैठक ३ बजेका लागि सारिएको हो ।

धेरैले आज महामन्त्रीहरुको जवाफबाटै पार्टीको आगामी रणनीति कस्तो हुने भनेर अनुमान लगाउने छन् । आगामी दिनको बाटो महामन्त्रीद्धयले कोर्ने छन् । 

यसअघि बोल्ने वक्ताहरुले जतिसुकै कुण्ठा पोखे पनि आगामी योजनाहरु सर्वसम्मत पारित हुने विश्वास नेताहरुले लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ