arrow

चिनियाँ नेपाल नीति

सीसँगका सम्झौता कार्यान्वयन गर्न दबाब दिएर फर्कियो चिनियाँ टोली

जोड फेरि पनि वामपन्थीहरुको एउटै पार्टी बनाएर नेपालमा बलियो शक्ति बनाउनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
chinese-team-2080-04-07.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विशेष निम्तोमा नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले सरकारी तहमा भएको सम्झौताहरु कार्यान्वयन नभएकोमा असन्तुष्टि व्यक्त गरेको छ । 

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युन तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किनुअघि सरकारी अधिकारी र माओवादीका नेताहरुसँग चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा भएका सम्झौताहरु नेपालले कार्यान्वयन गर्न नखोजेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । 

श्रीलङ्का हुँदै नेपालमा तीन दिने भ्रमण गरेको चिनियाँ प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटवार्ता गरेको थियो । माओवादी केन्द्रको निमन्त्रणमा नेपालमा आएको सो टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि स्वदेश फिर्ता भएको थियो । 

‘चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरु हाम्रो पार्टीको निमन्त्रणमा नेपाल भ्रमणमा आउनु भएको हो । नेपालका उच्चस्तरीय नेताहरुसँग भेटघाट गरी मंगलबार उहाँहरू स्वदेश फर्किनुभएको छ’, माओवादीका महासचिव देव गुरुङले भने । 

उनका अनुसार भेटघाटको क्रममा पुराना सम्झौताहरु कार्यान्वयन गर्ने र कार्यान्वयन गर्नेक्रममा सहजीकरणको बाटो अपनाउने विषयमा छलफल भएको थियो । 

आइतबार नेपाल आएको चिनियाँ प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका थिए । इटालीको रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भर्चुअलमार्फत आइतबारै नेता युयान च्याच्युनले संवाद गरेका थिए । 

आइतबार राति माओवादी केन्द्रका पदाधिकारीसँग बत्तीसपुतलीस्थित द्धारिका होटलमा उनले डिनर मिटिङ गरेका थिए । 

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे लगायतसँग संवाद गरेको प्रतिनिधिमण्डलले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर स्वदेश फर्किएको थियो । 

प्रतिनिधिमण्डलले यसअघि राष्ट्रपति सी नेपाल भ्रमणमा आउँदा भएका समझदारीका विषयमा विशेष चासो राखेको मात्र होइन कार्यान्वयनमा पनि जोड दिएको थियो ।

युआन च्याच्युनले चिनियाँ कम्युनिस्ट पार्टी नेपालको शान्ति र समृद्धि स्थिरताको लागि पूर्ण सहयोग गर्न तयार रहेको बताउँदै माओवादी नेताहरुसँग भएको डिनर मिटिङमा वामपन्थीहरुको एउटै पार्टी बनाएर नेपालमा बलियो वामपन्थी शक्ति बन्न जोड दिएका थिए । 

पछिल्लो समय चिनियाँ नेतृत्वले नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकजुट हुन सुझाव दिँदै आएका छन् । 

उनीहरुले कांगे्रससँग माओवादीको सहकार्य भए पनि यो सधै टिकाउ हुनेमा शंका व्यक्त गर्दै एउटै कम्युनिष्ट पार्टी भए आफ्ना नीति घोषणा पत्र, कार्यक्रमहरु लागु गर्न सहज हुने धारणा व्यक्त गरेको डिनर बैठकमा सहभागी एक माओवादी नेताले भने ।

‘विगतदेखिनै एउटै कम्युनिष्ट पार्टी बनाउन जोड दिएका चिनियाँ कम्युनिष्ट नेताहरुले यसपटक पनि सोही कुरा दोहोर्याएका छन्’, माओवादीका ती नेताको भनाइ छ । 

मंगलबार केपी ओलीसँग भेटघाट हुँदा पुराना सम्झौता खासगरी बीआरआईसँग सम्बन्धित परियोजनाहरुको बारेमा कुराकानी भएको एमाले स्रोतले जनाएको छ । उनीहरुले अमेरिकी परियोजना एससीसीको बारेमा पनि चासो राखेको स्रोतको दाबी छ । 

चिनियाँ अधिकारीहरु नेपाल आउनुअघि दक्षिण र मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले एक दिने नेपाल भ्रमण गरेर फर्केका थिए । 

गत असार २९ गतेमात्रै लूले नेपालमा उच्चस्तरीय भेटवार्तामा अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई कार्यान्वयन गर्न जोड दिएका थिए । 

परराष्ट्र मन्त्रालयमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र परराष्ट्रमन्त्री एनपी साउद दुवै देशका प्रतिनिधिमण्डलसहित वार्ता गरेका थिए । 

त्यसक्रममा लूले सत्तारूढ कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटवार्तामा नेपालको ऊर्जा तथा पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगको एमसीसी कार्यान्वयनको विषय उठाएका थिए ।
 



नयाँ