arrow

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
india-worker-nepal.JPG

काठमाडौं । शनिबार बढैयाताल गाउँपालिका-२ बर्दियाका खटकराज बुढा दसैँ-तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल-भारत सीमानाका जमुनाहमा भेटिए । उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए ।
 
साठी वर्ष पार गरिसकेका उनले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको बताए । “परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु । खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि भारतको सिमलामै जान्छु”, उनले भने, “मिले दसैँ-तिहारमा घर फर्कन्छु, नमिले साथीभाइ आउँदा उनहरूसँगै चाडबाड मनाउने पैसा पठाइदिन्छु ।” 

बुढाले विगत ३५ वर्षदेखि खेती लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउनका लागि भारत जाने गर्दै आएका छन् । नेपालमा जति काम गरे पनि राम्रो पारिश्रमिक नपाउने र पाए पनि ठेकेदारले पैसा नै नदिने उनले गुनासो गरे । “नेपालमै केही गरौँ भन्ने सोच र जाँगर भए पनि कामको उचित व्यवस्थापन छैन, न त मूल्य नै छ”, उनले भने, “घरपरिवार छाडेर अर्काको देशमा काम गर्न जाने रहर त मलाई पनि कहाँ छ र ? तर गुजाराका लागि पनि जानैपर्ने बाध्यता छ ।”

बुढाजझैँ सुर्खेत मेलकुनाका हरि ओली पनि असारे खेतीबाली लगाएर परिवारको छाक टार्न भारतमा मजदुरीका लागि जाँदै गर्दा जमुनाहमा भेटिए । घरमा स्कुल पढ्ने छोराछोरी छन् । पढाउनलाई र दसैँ-तिहारको जोहो गर्न आफू भारत जानुपर्ने बाध्यता भएको उनले बताए । उनले भने, “हाम्रो देशमा व्यवसाय गर्न पनि लगानी चाहिन्छ । लगानी लगाएर व्यवसाय गर्न मेरो हैसियतले भ्याउँदैन । रहरले भन्दा पनि बाध्यताले भारतमा मजदुरी गर्न जानुपरेको छ ।” उमेरले ५६ वर्ष पार गरिसकेका ओलीले भारत गएर कमाउन थालेको २२ वर्ष भएको बताए ।

यसैगरी रोजगारीका लागि भारत जाँदै गर्नुभएका दैलेखका विनय क्षेत्रीको पनि कथाव्यथा बुढा र ओलीको जस्तै छ । उन पनि बर्खे खेती लगाउनका लागि घर आएको र खेती लगाएर दसैँ-तिहारको जोहो गर्न भारतको सिमला जान लाग्दै गर्दा जमुनाहनाकामा भेटिए । उमेरले ४८ वर्ष लगाएका क्षेत्रीले नेपालमा रोजगारीको अभावसँगै स्वरोजगारका लागि सीप र लागतको पनि अभावले आफू बर्षैँपिच्छे भारत जानुपरेको बताए । “आफूसँग हातमा सीप छैन, व्यापार-व्यवसाय गर्न लगानी छैन, अनि महिना दिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन । भारतमा त जस्तो भन्यो त्यस्तै काम पाइन्छ अनि दाम पनि । त्यसैले मजदुरी गर्न भारतको सिमला जान लागेको हुँ ।”

बुवा र काकाको साथमा सानै उमेरदेखि भारतमा गएर मजदुरी गर्दै आएको विनयले बताए । विगत १८ वर्षदेखि भारतमा गएर काम गर्न सुरु गरेका विनयलाई सुरुमा भारतमा जानका लागि आफ्नो देशको नाका पार गर्दा नमज्जा लागेको अनुभव सुनाए । “पहिलोपटक काम गरेर पैसा कमाउन बुवा र काकासँग भारत गएको थिएँ । त्यतिबेला यही नाकामा म मनैमन रोएको पनि थिएँ । साह्रै नमज्जा लागेको थिए । अहिले त बानी परिसक्यो”, उनले भने, “आफ्नै गाउँठाउँमा बस्ने रहरलाई मारेर अर्काको देशमा खुन पसिना बगाउन मलाई मन छैन तर यो बाध्यता हो ।”

प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाहनाका हुँदै दसैँ-तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को लाग्ने गर्दछ । यस वर्ष पनि असारे खेतीबाली सकेर दसैँ-तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को सीमानाकामा देख्न सकिन्छ । असारे खेतीबाली लगाएर रोजगारीको सिलसिलामा दैनिक भारत जाने नेपालीको सङ्ख्या योपटक भने दुई सयभन्दा बढी भएको सीमानाका जमुनाहले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ